फाइल तस्बिर
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीको सुझाव नमानेकोमा सत्ता गठबन्धनको आलोचना गरेका छन्।
बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले राष्ट्रपतिले विधेयकमा पुनर्विचार गर्ने कि भन्दा गठबन्धनले मसलको भाषा बोलेको आरोप लगाए। संसद्मा बसेर नभई बाहिरबाहिर निर्णय गरेकोमा उनले असन्तुष्टि व्यक्त गरे।
‘बाहिरबाहिर अनाडी मान्छेहरू भेला गरेर, अनाडी मान्छेहरू बसेर, अनधिकृत ठाउँमा, संविधानले नचिनेका मान्छेहरू बसेर राष्ट्रपतिको मजाक उडाउने काम भयो। असभ्यता। कुसंस्कार। अलोकतान्त्रिक संस्कार। त्यसको निर्लज्ज प्रयोग अहिलेको यो गठबन्धनले गरिरहेको छ’, उनले भने।
गठबन्धनले राष्ट्रपतिको अपमान गर्नु महानता हो भन्ने ठानेको उनको भनाइ छ।
संसद्को दुवै सदनबाट दोस्रोपटक पारित भएको नागरिकता विधेयकलाई राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी बेवास्ता गरिदिएपछि सत्ता गठबन्धनले आलोचना गरेको छ। एमाले भने पहिल्यैदेखि विधेयकको विपक्षमा थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।