काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले समुन्नत समाज निर्माणमा जुट्न सबै गैरसरकारी संस्थाहरुलाई आह्वान गरेकी छन्।
बिहीबार काठमाडौं समाज कल्याण परिषद्ले ४३औं सामाजिक सेवा दिवसको अवसरमा आायोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गरिब, विपन्न, समुदायको सामाजिक र आर्थिक रुपान्तरण गर्दै समुन्नत समाजको निर्माण गर्न सबै गैरसरकारी संस्था जुट्नुपर्ने बेला आएको बताएकी हुन्।
उनले सामाजिक संघ, संस्थाको कामलाई सहजीकरण गर्दै परियोजनको लक्षित उद्देश्य प्राप्ति गर्ने कार्यमा स्थानीय तहसँगको समन्वय र सहकार्यमा प्रभावकारी, पारदर्शी र जवाफदेही हुन आवश्यक रहेको पनि बताइन्।
मन्त्री रेग्मीले परिषद्मा आवद्ध रहेका ५४ हजार गैरसरकारी संस्था तथा २ सय हाराहारीमा रहेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका काम कारबाहीलाई परिषद्ले अत्यन्त सुक्ष्म रुपमा अध्ययन गरिरहेको बताइन्।
उनले गैसरकारी संस्थाका कामकारबाहीलाई पारदर्शी, वैज्ञानिक किसिमले अघि बढाउन परिषद् लागिपरेको बताइन्। उनले सामाजिक संघ, संस्थाले प्राप्त गरेको सहयोग, दूरदराजका ग्रामिण विपन्न व्यक्ति, समुदाय, लक्षित कार्यक्रमहरु तर्जुमा र कार्यान्वयनमा जोड दिनुपर्ने आजको आवश्यक्ता रहेको स्पष्ट पारिन्।
मन्त्री रेग्मीले अहिले अस्तव्यस्त रहेको भृकुटीमण्डपलाई आफू नेतृत्वको टिमले पारदर्शी बनाउनका लागि टेण्डर प्रक्रियाबाट काम सञ्चालन गरिरहेको जानकारी दिइन्। उनले समिति गठन गरेर अनुगमन मूल्यांकन अद्यावधिक गर्ने प्रणाली पनि सुरु गरेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।