काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरलले सत्तारुढ गठबन्धन दलहरुले नागरिकता विधेयकलाई आफ्नो पार्टीविरुद्ध प्रयोग गर्न खोजेको आरोप लगाएका छन्।
बिहीबार पार्टी प्रवेश कार्यक्रममा बोल्दै महासचिव पोखरेलले भने,‘पाँच दलीय गठबन्धन राष्ट्र निर्माणको अभियानलाई रोक्ने षड्यन्त्रमा लागेको छ। एउटा षड्यन्त्रको रुपमा नागरिकताको विषयलाई हाम्रो पार्टीकोविरुद्धमा प्रयोग गर्ने हतियारका रुपमा प्रयोग गर्न खोजिएको छ। नागरिकताको सन्दर्भमा हाम्रो पार्टी सदैव स्पष्ट छ। नेपाली नागरिकहरुले नागरिकता प्राप्त गर्न पाउनुपर्छ। यो नेकपा एमालेको मान्यता हो भन्ने बुझ्न जरुरी छ।’
महासचिव पोखरलेले जन्मसिद्ध नागरिकका सन्तानहरुका लागि वंशजका आधारमा नागरिकता प्राप्त गर्न सुनिश्चित गर्ने सवालमा केपी ओली प्रधानमन्त्री हुँदा अध्यादेश जारी गरेको र त्यसलाई रोक्ने काम गरेको आरोप लगाए।
अध्यादेश रोक्नेहरुले नै एमालेले नागरिकता विधेयक रोक्न खोजेको प्रचार गरिएको उनको भनाइ छ। ‘यदि अध्यादेश नरोकिएको भए, नेपाली नागरिकका सन्तानहरुले नागरिकता प्राप्त गरिसक्थे,’ उनले भने, ‘राष्ट्रपतिले संवेदनशील कुरालाई समग्र रुपमा समाधान गर्नुपर्छ। समयमै समाधान गर्नुपर्छ भन्ने कुरालाई उपेक्षा गर्ने पाँच दलीय गठबन्धनको सरकारले संसद् भित्रबाट होइन, संसदबाहिरबाट उपेक्षा गर्ने काम गणतन्त्रमाथिको प्रहार हो।’
वैवाहिक अंगीकृत बहसको विषय भएको बताउँदै उनले थपे, ‘नेपाली चेलीहरु विवाह गरेर भारत जाँदा नागरिकता प्राप्त गर्न जति समय लाग्छ। त्यति समयको प्रतिक्षा बाहिरबाट विवाह गरेर आउनेहरुका लागि हुनुपर्छ।’
उनले चेलीहरुको हकका बारेमा पाँच दलीय गठबन्धन बोल्न नसकेको आरोप लगाए। विवाह गरेलगत्तै नागरिकता दिने प्रचलन दक्षिण एसियामा कहाँ छ? भन्दै उनले प्रश्न गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।