धनुषा– सहरी विकासमन्त्री मेटमणि चौधरीले धार्मिक एवं सांस्कृतिक धरोहर जनकपुरधामले धार्मिक पर्यटनको ठूलो सम्भावना बोकेको बताएका छन्।
जलेश्वर–जनकपुर–धनुषाधाम धार्मिक पर्यटकीय कोरिडोरमा पर्ने मठ, मन्दिर सौन्दर्यीकरणको लागि पूर्वाधार निर्माण आयोजनाको शिलान्यासपछि आयोजित सभामा बोल्दै मन्त्री चौधरीले भने, ‘ऐतिहासिक सम्पदा जनकपुरधाम भ्रमण गर्न बर्सेनि लाखौं लाख पर्यटक आउने गरेका छन्। खासगरि हिन्दू धर्ममा विश्वास गर्नेहरुको लागि यो पवित्र स्थल हो। यसको मौलिकता जोगाउँदै यस क्षेत्रलाई सौन्दर्यीकरण गर्न सके यस क्षेत्रले धार्मिक पर्यटनको ठूलो सम्भावना बोकेको छ।’
जनकपुरधाम नेपालमा मात्र नभइ विश्वमै परिचित स्थल रहेको बताउँदै मन्त्री चौधरीले सहरी मन्त्रालयले यस क्षेत्रको विकासमा कुनै कसर बाँकी नराख्ने बताए।
उनले भने, ‘तपाईंहरु फटाफट काममा जुट्नुस्। हामीले बजेटको निरन्तर व्यवस्था मिलाउने छौं। बजेट अभावका कारण आयोजना रोकिने स्थिति आउने छैन। काम निर्धारित समयभित्रै सक्नुस्। काम गर्दा गुणस्तरीयतामा कमि नहोस्। तपाईंहरुले पनि निरन्तर आयोजनाहरुको निगरानी गर्नुस्।’
यस आयोजना अन्तर्गत जलेश्वर–२, मा सांस्कृतिक सामुदायिक भवनको स्तरोन्नति, बोधिमाई मन्दिर परिसरमा घाट निर्माण, ट्रयाक स्तरोन्नति, जनकपुरधामस्थित रामजानकी कुट्टीमा रहेको सांस्कृतिक भवन स्तरोन्नति, जनकपुरधाम–४ मा मिथिला परिक्रमा विश्राम भवन निर्माण, मिथिला बिहारी नगरपालिका कचुरीमा सांस्कृतिक भवन तथा विवाह मण्डप निर्माण, धनुषाधाम मन्दिर परिसरमा रहेको सांस्कृतिक भवनको स्तरोन्नति लगायतका योजनाहरु रहेका छन्। आयोजनाको कूल अनुमानित लागत १० करोड रहेको छ।
त्यसैगरी मन्त्री चौधरीले जनकपुरधाम उपमहानगरपालिकामा सडक तथा नाला निर्माण कार्यक्रम अन्तर्गत दुर्गाचोक–रेल्वे ट्रयाक सडक खण्डमा सहरी सडक तथा नाला स्तरोन्नति कार्यको पनि शिलान्यास गरेका छन्। जस अन्तर्गत २.२ किलोमिटर लम्बाईमा १६ मिटर चौडा सहरी सडकको मापदण्ड अनुसार साइकल लेन, फुटपाथको व्यवस्था हुनेछ। दुवैतर्फ विरुवा रोपेर हरियाली कायम गरिने जनाइएको छ। यस आयोजनाको अनुमानित लागत २० करोड रहेको छ।
पूर्व राष्ट्रपति डा. रामवरण यादवसँग जनकपुर ओर्लेका मन्त्री चौधरीले यादवसँगै जनकपुर नगरपालिका–९ स्थित सरस्वती मावि परिसरको भौतिक पूर्वाधारसहित सडक नाला, पोखरी सौन्दर्यीकरण तथा वातावरण सुधार आयोजनाको शिलान्यास गर्ने कार्यक्रममासमेत सहभागी भएका थिए।
कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, सहरी विभागका उपमहानिर्देशक नारायण भण्डारी, संघीय आयोजना कार्यान्वयन ईकाई धनुषाका आयोजना प्रमुख प्रदीप खनाल, स्थानीय जनप्रतिनिधि लगायतले आ–आफ्ना धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।