काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रुपान्तरण ल्याउन सकिने बताएका छन्।
बिहीबार काठमाडौं समाज कल्याण परिषद्ले ४३औं सामाजिक सेवा दिवसको अवसरमा आायोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालजस्तो विकासोन्मुख मुलुकमा सामाजिक सेवाको माध्यमबाट नै ठूलो रुपान्तरण ल्याउन सकिने बताएका हुन्।
उनले सामाजिक सेवाको माध्यमबाट समाजमा पछि परेका समुदायलाई विकासमा मूल प्रवाहीकरण गर्नुका साथै उनीहरुको सामाजिक, आर्थिक सशक्तिकरणमा महत्त्वपूर्ण योगदान गर्न सामाजिक सेवा आवश्यक रहेको बताए।
उनले यस्ता समाजसेवामुखी कार्यक्रमले नयाँ पुस्तालाई समाजसेवामा आकिर्षत गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे। प्रधानमन्त्री देउवाले सबैले आफ्नो निजी स्वार्थभन्दा माथि उठेर समाजको वृहत्तर हित, कल्याण एवं उत्थानका लागि निःस्वार्थ भावले समर्पित हुन आवश्यक रहेको बताए।
उनले गैरसरकारी संघसंस्थालाई उत्तरदायी, पारदर्शी र परिणाममुखी बनाउँदै राष्ट्रिय आवश्यकता र प्राथमिकताका क्षेत्रमा संलग्न गराउने गरी देशको नीति तथा कार्यक्रमहरु तर्जुमा गर्न आवश्यक रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।