काठमाडौं– काठमाडौं महानगरपालिकाको पूर्वाधार समन्वय समितिको बैठक बुधबार जेडिए कम्प्लेक्स सुन्धारामा बसेको थियो।
उक्त बैठकमा महागरका प्रमुख बालेन्द्र शाह (बालेन)ले सार्वजनिक जग्गा संरक्षणका लागि तपाईंहरु काम गर्दै हुनुहुन्थ्यो, हिजोआज किन छोड्नु भएको? भन्दै प्रश्न गरे।
उनको उक्त प्रश्नको उत्तरमा प्राधिकरणका इञ्जिनियर सौरभ ढकालले उत्तरका लागि आयुक्तसँग कुरा गर्नुपर्ने जवाफ दिए। आफूले गरेका कामको प्रगति सुनाउने क्रममा नेपाल विद्युत् प्राधिकरणका निर्देशक श्रीरामराज पाण्डेले भूमिगत विद्युत् प्रसारण लाइनसँगै सडक किनारामा राखिएका ११० वटा प्यानलले मार्ग अवरोध गर्ने भएकोले पुनः डिजाइन गरेर पुनर्स्थापना गर्न लागिएको बताएका छन्।
यसलाई पूरै भूमिगत गर्न मिल्दैन भन्ने प्रश्नको उत्तरमा पाण्डेले नमिल्ने बताएपछि प्रमुख शाहले ‘के यो सयौं वर्षसम्म पनि यस्तै हो त? भन्दै प्रतिप्रश्न गरेका थिए। यस क्रममा निर्देशक पाण्डेले आउँदो ३० वर्षका लागि अहिले काम गरिरहेको बताए।
बैठकमा उपप्रमुख सुनिता डंगोलले भित्री सहरी क्षेत्रमा खानेपानीको अभाव झेल्नु परेको गुनासो आउने गरेको प्रसङ्ग उठाउँदै काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यलाई अवस्थाका विषयमा प्रश्न गरेकी थिइन्। उनको प्रश्नको उत्तरमा शाक्यले भने, ‘पुराना पाइपमा खिया लागेको छ। टुटफुट भएकोले पानी वितरणमा समस्या भएको बताएका थिए। हामीले पहिलो र दोस्रो चरणमा परीक्षण गरिसकेका छौं। अब पहिलेको समस्यामा कमी आउँछ।’
यस्तै महानगरका प्रमुख प्रशाकीय अधिकृत बसन्त अधिकारीले सहरी सुन्दरताका काम पर्वअगाडि नै गर्नुपर्ने बताए। उनले भने, ‘सबैको प्रयत्नबाट सुन्दर राजधानी सहर बनाउनुपर्छ।’ यस्तै विद्युत् प्राधिकरणसँग सडक बत्ती व्यवस्थापन गर्ने सम्बन्धमा उठेको सवाललाई स्पष्ट पार्दै उनले ढाँचा एकिन नभए सूचना प्रकाशित भएपछि अन्योल भएको बताए।
बैठकमा अधिकारीहरुले महानगरले सञ्चालन गरिरहेको अनधिकृत संरचना हटाउने कामको प्रशंशा गरेका थिए।
त्यस क्रममा सडक पूर्वाधारसँग सम्बन्धित विषयहरुमा बर्खे सतह पानी व्यवस्थापन र ढल प्रणालीलाई छुट्टाछुट्टै गर्ने, गुह्येश्वरीमा भएको तरल फोहोर प्रशोधनबाट उत्पादन भएको माटोजन्य फोहोर व्यवस्थापन गर्ने, कलंकी महाराजगञ्ज चक्रपथ विस्तारको कामलाई पूर्णता दिने, पर्व लक्षित यातायात सञ्चालनका सहज वातावरण बनाउने विषयमा छलफल भएको थियो।
त्यस क्रममा सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख नारायणप्रसाद निहुरेले गएका वर्षहरुमा बर्खा र चाडबीच २ महिनासम्मको अन्तर हुने गरेकोमा यस वर्ष पर्व आउञ्जेल पनि बर्खे झरी नसकिएकोले सडक मर्मत सम्भार तथा चिन्ह तथा रंग लगाएर सुन्दरताका काम गर्न समस्या भएको बताए।
त्यसैगरी यातायात व्यवस्था विभागका निर्देशक ईश्वरीदत्त पनेरुले दसैंका लागि लामो दूरीका सवारी साधनको टिकट खुला गरिसकिएको र असोज ५ गतेसम्ममा ३५ हजार टिकट विक्री भइसकेको जानकारी दिए। त्यसैगरी काठमाडौंका १५ ठाउँमा यात्रु सहायता कक्ष राखिएको, निश्चित अवधिका लागि क्यु फ्रि सवारी सञ्चालन प्रबन्ध गरिएको, काठमाडौं आउने यात्रुबाहक सवारी साधनलाई रोकेर सञ्चालन प्रबन्ध गरिएको जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।