काठमाडौं– नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको बृहत् नागरिक आन्दोलनले विरोध गरेको छ। संसद्ले पारित गरेर पठाएको विधेयक प्रमाणित नगर्ने राष्ट्रपतिको कदम संसदीय सर्वोच्चता र संविधानको ठाडो उल्लंघन भएको पनि आन्दोलनले उल्लेख गरेको छ।
वृहत् नागरिक आन्दोलनका तर्फबाट बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘नागरिकको मतबाट निर्वाचित सार्वभौम संसद्ले पारित गरेर पठाएको विधेयक प्रमाणित नगर्नु संसदीय सर्वोच्चता र संविधानको ठाडो उल्लंघन हो। संविधानको संरक्षकबाट नै संविधान उल्लंघन गर्ने कार्यको बृहत् नागरिक आन्दोलन विरोध गर्दछ। संविधान उल्लंघन गर्दै बलमिच्याइँ गर्न खोज्ने राष्ट्र प्रमुखले पदको गरिमा मात्र कायम राख्न नसकेको होइन, लोकतान्त्रिक गणतन्त्रमाथि नै जोखिम उत्पन्न गरेको छ।’
विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको ‘असंवैधानिक’ कदम उनलाई पदमुक्त गर्न महाअभियोग लगाउन समेत पर्याप्त रहेको आन्दोलनले उल्लेख गरेको छ। व्यवस्था थप जोखिमपूर्ण बन्न नदिन तथा संविधानको सर्वोच्चता कायम राख्न राष्ट्रपति विद्यादेवी भण्डारीले पदबाट राजीनामा दिनुपर्ने आन्दोलनले उल्लेख गरेको छ।
‘राजाको सिको गर्न र कथित संवैधानिक राजतन्त्रको झल्को आउने गरी जनताको मतद्वारा निर्वाचित सार्वभौम संस्थाले गरेका निर्णय उल्टयाउन गणतान्त्रिक व्यवस्थाले राष्ट्रपतिको गरिमामय पद सिर्जना गरेको होइन,’ विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक संस्कारलाई बलियो बनाउने, संविधानको रक्षा गर्ने र सम्मानसहित दिइएको पदको गरिमा जोगाउने मुख्य दायित्व राष्ट्रपतिको हो।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।