काठमाडौं– संसद्बाट पारित भएर पेस भएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको उपराष्ट्रपति नन्दबहादुर पुनले आलोचना गरेका छन्। राष्ट्रपतिले संविधानको दायरा नाघेको उपराष्ट्रपति पुनको (अप्रत्यक्ष) भनाइ छ।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि उत्पन्न भएको राजनीतिक सरगर्मीका बीच उपराष्ट्रपति पुनले बुधबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिलाई संविधानको दायरभन्दा बाहिर जाने अधिकार नभएको बताएका छन्।
बुधबार जारी गरेको विज्ञप्तिमा उपराष्ट्रपति पुनले भनेका छन्, ‘पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालना र संरक्षण हुन नसकेको भनी बृहत् जनआवाज उठिरहेका छन्। यो आवाज उठ्ने परिस्थिति सिर्जना हुनु ज्यादै दु:खद पक्ष हो।’
उपराष्ट्रपति पुनले संविधानको पालन र संरक्षकको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको पनि बताएका छन्।
‘संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायराभन्दा बाहिर जाने छुट छैन। संविधान दिवसमा गरेको प्रतिबद्धतालाई स्मरण गर्दै संविधानको पालन र संरक्षणका लागि म सबै पक्षमा आग्रह गर्दछु,’ उपराष्ट्रपति पुनले विज्ञप्तिमा भनेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।