काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले गम्भीर संवैधानिक संकट निम्त्याएको बताएका छन्। उनले संविधानको पालना नगर्ने राष्ट्रपतिले अरु असंवैधानिक कदम चाले के गर्ने? भन्ने प्रश्न समेत गरे।
बुधबार पार्टी निकट युवा संघको कार्यक्रममा सम्बोधन गर्दै उनले संविधानको प्रावधान राष्ट्रपतिबाट अस्वीकार गरिएको बताए। ‘संविधानमा संसद्ले कुनै पनि विधेयक पास गरेर पठाएपछि राष्ट्रपतिले त्यसलाई अनुमोदन गर्नुपर्छ। राष्ट्रपतिलाई त्यस्तै केही लागेको छ भने एकपटक संसद्मा फिर्ता पठाउन सक्छिन्। फेरि दुइटै सदनले हेरेर पठायो। त्यसलाई राष्ट्रपतिले स्वीकार गर्नैपर्थ्यो। तर हिजो १५ दिनको समय बित्दाखेर उनले स्वीकार गरिनन्,’ उनको भनाइ छ।
उनले राष्ट्रपतिबाट संविधान मिच्ने क्रम तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दैदेखि सुरु भएको बताए। आफूहरु हस्ताक्षरसहित उपस्थित हुँदा समेत शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगरेको घटनाको चर्चा गर्दै उनले राष्ट्रपतिको भूमिकाको आलोचना गरे।
‘अहिले फेरि राष्ट्रपतिले जुन हिसाबले नागरिकता विधेयकको बारेमा स्वीकार नगर्ने निर्णय भएको छ। अत्यन्तै गलत भएको छ। आज बालुवाटारमा दलहरुको बैठकले राष्ट्रपतिको कदमको घोर निन्दा गर्ने निर्णय भएको छ। त्यसका विरुद्धमा सजग हुनका लागि जनतालाई आह्वान गर्ने निर्णय गरेका छन्,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।