काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीका सूचना र सञ्चार विज्ञ सल्लाहकार टीका ढकालले नागरिकता विधेयक मृत भइसकेको टिप्पणी गरेका छन्। प्रमाणीकरणका लागि मंगलबार रातिसम्मको समयसीमा भए पनि राष्ट्रपतिले प्रमाणीकरण नगरेको सो विधेयकका विषय छलफल गरेर समय खेर फाल्नु पनि बेकार रहेको उनको भनाइ छ।
'हिजो (मंगलबार) राति १२ बजे १५ दिन पुग्यो। त्यतिबेला विधेयकमा हस्ताक्षर भएन। त्यो विधेयकको औचित्य सकियो। त्यसको बारेमा छलफल गरेर समय खेर फाल्नु नै बेकार छ अब। त्यो त निष्क्रिय भइसक्यो। त्यो मृत विधेयकको बारेमा चर्चा गर्नु नै बेकार भइसक्यो', नेपाल लाइभसँग कुरा गर्दै उनले भने।
उनले सरकारले अध्यादेश ल्याएर वैकल्पिक व्यवस्था गर्न सक्ने बताए। 'अध्यादेश ल्याएर नागरिकताको समस्या समाधान पनि गर्ने र अर्को संसद्को विषय पनि बनाउने हो भने एउटै तीरबाट काम हुनसक्छ', उनले भने।
ढकालका अनुसार, राष्ट्रपति भण्डारीले अध्यादेशमार्फत अघि बढ्न पहिल्यैदेखि सल्लाह दिँदै आएकी थिइन्। राष्ट्रपतिले दिएको सल्लाहलाई औचित्यपूर्ण ठहर्याेउँदै उनले भने, 'त्यो विकल्पमा जानु श्रेयष्कर हुन्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।