काठमाडौं– नेकपा माओवादी केन्द्रले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको परिकल्पनाभन्दा बाहिरको काम गरेको बताएको छ।
माओवादी केन्द्रका महासचिव देव गुरुङले राष्ट्रपतिको कदमबारे प्रतिक्रिया दिँदै नेपाल लाइभसँग भने, ‘संविधानको परिकल्पनाभन्दा बाहिरको काम भयो।’
उनले संवैधानिक व्यवस्थाअनुसार हेर्दा संविधानको अन्तरवस्तुमा भिन्नता हुने गरेको तर विधि र प्रक्रियाका हिसाबले संसद्बाट पठाएको विधेयक रोक्ने अधिकार राष्ट्रपतिलाई नभएको बताए।
उनले भने, ‘पुनर्विचारका लागि पठाउने कुरा आफ्नो ठाउँमा छ। विधि अनुसार दुवै सदनले फेरि पठाएपछि राष्ट्रपतिले रोक्ने कुरा संविधान अनुकूल देखिँदैन।’
अबको प्रक्रिया के हुन्छ त? भन्ने प्रश्नमा महासचिव गुरुङले त्यसबारे सरकारले सोच्ने बताए।
उनले भने, ‘के गर्ने भन्ने कुरा सरकारको हो। संविधानभन्दा बाहिर गएका कुरामा ट्रयाकमा ल्याउनका लागि के–के गर्नुपर्छ सरकारले सोच्ला।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।