काठमाडौं- सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानत: नागरिकता विधेयक जारी गर्नुपर्ने बताएका छन्।
मंगलबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नेमा सरकार विश्वस्त रहेको बताए।
‘संविधानत: राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ र गर्नुपर्छ’, उनले भने, ‘आज अन्तिम दिन हो। प्रमाणीकरण हुन्छ भन्ने सरकारलाई विश्वास छ।’
संघीय संसद्को दुवै सदनले भदौ २० गते नागरिकता विधेयक पारित गरेर पठाएको थियो। उक्त विधेयक १५ दिनसम्म होल्ड गर्न पाउने अधिकार राष्ट्रपतिलाई संविधानले दिएको छ। उक्त अवधि सोमबार मध्यराति पूरा हुँदैछ।
संविधानले पहिलोपटक पुनर्विचारका लागि पठाउन सक्ने अधिकार राष्ट्रपतिलाई दिएको छ। उक्त अधिकार राष्ट्रपतिले यसअघि प्रयोग गरिसकेकी छन्। उनले १५ बुँदे टिप्पणीसहित विधेयक फिर्ता पठाएकी थिइन्। उक्त टिप्पणीपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाले पुन: विधेयक पारित गरेर पठाएका थिए।
आफूले गरेको टिप्पणीमा छलफल नै नगरेको र सत्ता गठबन्धनको बैठकले निर्णय गरेर विधेयक जस्ताको तस्तै पारित गरेर पठाएको भन्दै राष्ट्रपति असन्तुष्ट छन्।
राष्ट्रपतिले आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि छलफल गरेकी थिइन्। प्रधानमन्त्री देउवालाई उनले सकारात्मक संकेत दिएकी थिइनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।