काठमाडौं – माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले आफूहरुले छाड्दा सरकार अल्पमतमा पर्ने र चुनाव नै नहुने स्थिति सिर्जना हुने भएकाले सत्तामै बसिरहेको दाबी गरेकी छन् । उनले आफूहरुले चुनावसम्म सरकार नछाड्ने कुरा स्पस्ट रहेको समेत बताइन्।
विपक्षी गठबन्धनसँग चुनावी तालमेल गरेर चुनावी सरकारमै बसिरहन कुन नैतिकताले मिल्छ ? भन्ने प्रश्नको उत्तरमा उनले भनिन्, ‘चुनाव गराउन कांग्रेससँग सत्ता तालमेल गरेको हो, चुनाव नहुन्जेल छाड्न चाहिँ मिल्दैन । कम्युनिस्ट गठबन्धन चाहिँ आगामी चुनावका लागि गरिएको हो । हामी त पार्टी नै एकता गर्ने भनिरहेका छौं।’
आफूहरुले अविश्वास प्रस्ताव नल्याएर यो सरकारलाई सघाउ नै पुर्याएको र चुनावको सुनिश्चितता गरेको उनको दाबी छ।
‘अविश्वास प्रस्ताव ल्याएको भए सरकार ढल्ने र चुनाव अनिश्चित हुने थियो’, उनले भनिन् । जबकि संविधानमा ६ महिना नपुगी अविश्वासको प्रस्ताव ल्याउने व्यवस्था नै छैन र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा माओवादीसहितको गठबन्धन सरकार बनेको ४ महिना मात्र भएको छ।
माओवादीले सरकार छाडेको भए चाहिँ देउवाले विश्वासको मत लिनुपर्ने थियो । माओवादी चुनावमा सबैभन्दा बढी प्रभाव पार्नसक्ने गृह मन्त्रालयसहित सरकारमा छ । वामपन्थी एकता गरेर चुनावमा धेरै सिट ल्याउने र सरकारमा बसेर चुनावलाई आफ्ना पक्षमा पार्ने दोहोरो रणनीतिमा माओवादी छ । दीर्घकालमा पार्टी एकता नै गर्ने सहमति गरेकाले एमालेले पनि माओवादीलाई सत्ता नछाड्न सुझाव दिएको छ।
यो त दुवै हातमा लड्डु भने जस्तो भएन र ? भनेर सोध्दा भुसालले भनिन्, ‘तपार्इं जे व्याख्या गर्नुस्, हामी चुनाव सम्पन्न नभएसम्म सरकार छाड्दैनौं । हरेक पार्टीका आफ्ना रणनीति हुन्छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।