काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान मास्ने प्रपञ्च भइरहेको बताएका छन्। संविधान दिवसका अवसरमा शुभकामना दिँदै नेता नेपालले संविधान रक्षाका लागि जनताको सुझबुझपूर्ण साथको आवश्यकता भएको बताएका छन्।
शुभकामना दिँदै उनले भनेका छन्, ‘ प्रादेशिक र संघीय निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको अहिलेको अवस्थामा संविधान मास्ने र विधिलाई समाप्त पार्ने शक्ति नक्कली कुरा गरी जनतालाई दिग्भ्रमित पार्ने र झुक्याउने प्रपन्च गरिरहेकाले जनताको सहयोग, सद्भाव र सुझबुझपूर्ण निर्णयको अपेक्षा छ।’
उनले सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणका लागि समाजवादउन्मुख अर्थतन्त्रको आवश्यकता औंल्याएका छन्। उनले जनताको सहभागितामा बनाएको संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न सकिने र संविधानद्वारा प्रत्याभूत गरिएका नागरिक आकांक्षा पूरा हुने विश्वास व्यक्त गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ’प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासनप्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्नु संविधानको उपलब्धी हो। संविधान जारीपछि मुलुकको राज्य संरचना र शासन सत्तामा ठूलो परिवर्तन तथा सुधार भएको छ।’
विज्ञप्तिमा असंवैधानिक रूपमा दुई पटक गरिएको संसद् विघटन, स्वेच्छाचारिता, अहङ्कार, दम्भ एवं अनेक खाले विकृतिका विरूद्ध अघिल्लो वर्ष पाँच दलीय गठबन्धनको नेतृत्वमा भएको सडक आन्दोलनले मुलुकलाई प्रतिगमनबाट जोगाउन र संविधानको रक्षा गर्न सफलता प्राप्त गरेको विषयलाई पनि संविधान दिवसका अवसरमा स्मरण गर्नुपर्ने उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, ‘अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्तिहरु संविधानविरुद्ध लागिरहेकाले सर्तक हुन आवश्यक छ ।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।