काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संविधान र सिंगो व्यवस्थाको रक्षाका लागि गठबन्धनमा आवद्ध दलहरुको जित आवश्यक रहेको बताएका छन्।
संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले संविधान र वर्तमान व्यवस्थाको रक्षाका लागि आगामी निर्वाचनमा आफूहरुको जित आवश्यक भएकाले गठबन्धनमा आबद्ध दललाई मतदान गर्न अपिलसमेत गरेका छन्।
उनले भनेका छन्, ‘संविधान एवं सिंगो व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि यस निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको जीत अपरिहार्य भएको छ। त्यसका लागि प्रतिगमन विरोधी अग्रगामी सम्पूर्ण नेपाली जनसमुदायलाई गठबन्धनमा रहेका दलहरुलाई विजयी गराई संविधान रक्षा एवं सफल कार्यान्वयनका लागि हार्दिक अपील गर्दछु।’
यस्तै अध्यक्ष दाहालले संविधानका लागि जीवनको बलिदान दिने सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते तथा अपांगता भएका योद्धाहरुप्रति सम्मान प्रकट गरेका छन्।
उनले भनेका छन्, ‘संविधान दिवस–२०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु। सर्वप्रथम यो संविधानका लागि जीवन उत्सर्ग गर्ने महान् सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्गता भएका योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्दछु।’
उनले लामो संघर्ष र नेपाली जनताको त्याग र बलिदानको प्रतिफलका रुपमा वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त भएको बताउँदै संविधानले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत मात्र गरेको नभई समानुपातिक, समावेशी, मौलिक हक, पहिचान र अधिकार लगायतका विषयमा अग्रगामी रहेको दाबी गरेका छन्।
संविधानले सिंहदरबारमा रहेको एकात्मक राज्य व्यवस्थालाई नागरिकको दैलोमा पुर्याउने श्रेय पनि वर्तमान संविधानलाई जाने उनको भनाइ छ। ‘सिंहदरबारमा रहेको एकात्मक राज्य व्यवस्थाको केन्द्रीकृत शासन प्रणालीलाई नागरिकको घरदैलोमा पुर्याउने श्रेय पनि वर्तमान संविधानलाई जान्छ। यसले नागरिकलाई ‘गाउगाउँमा सिंहदरबार’को अनुभूति गराएको छ’, उनले शुभकामना सन्देशमा भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।