काठमाडौं–साढे २२ लाख रुपैयाँ घुससहित पक्राउ परेका उपसचिव प्रमोद नेपालविरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन महाशाखाका उपसचिव प्रमोद नेपाललाई ६ लाख घुस लिँदै गरेको बेलामा अख्तियारको टोलीले पक्राउ गरेको थियो।
पार्किङ गरेर राखिएको उनको गाडीबाट १६ लाख ५० हजारसमेत बरामद भएको थियो। प्याराग्लाइडिङ सञ्चालनका लागि अनुमति पत्र उपलब्ध गराइदिने भन्दै सेवाग्राहीसँग लिएको घुस लिएको आरोपमा काठमाडौं महानगरपालिका–१ मनकामनामार्गस्थित होटल अरण्यबाट पक्राउ परेका थिए।
उनीसँगै बिबी एयरवेज प्रालिका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ। श्रेष्ठले उपसचिव नेपाललाई साढे १६ लाख रुपैयाँ दिएको खुलेपछि उनलाई पनि प्रतिवादी बनाइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।
कम्पनीका कागजात नवीकरण गर्ने बेलामा प्रलोभनमा पार्ने उदेश्यले सापट भन्दै श्रेष्ठले नेपाललाई साढे १६ लाख रुपैयाँ दिएको देखिएकाले उनीविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।