काठमाडौं– सहरी विकासमन्त्री मेटमणि चौधरीले ओहदामा हुनेहरुको गलत मनोविज्ञानका कारण देशको विकास हुन नसकेको बताएका छन्।
नवप्रवेशी इन्जिनियरहरुका लागि आयोजना गरिएको ‘पूर्वाधार विकास आयोजनाहरुको अनुगमन तथा कार्यान्वयन’ विषयक ६ दिने तालिमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन्।
उनले भने, ‘मन्त्री, नेता, इन्जिनियर, हाकिम जस्ता माथिल्लो ओहदामा हुनेहरुको मनोविज्ञान नै घुस खानैपर्ने भएपछि विकास हुने कुरा भएन। पदमा रहँदा कमाउनैपर्ने, पैसा जम्मा गर्नैपर्ने भएपछि न गुणस्तरको काम हुन्छ न समयमै योजना सकिन्छ। त्यसकारण अब हामी सबैले यस्तो गलत मनोविज्ञान त्याग्नैपर्छ।’
तालिमले कार्य क्षमता अभिवृद्धि हुने भन्दै मन्त्री चौधरीले उच्च आत्मबल, उच्च नैतिकता र उच्च इमानदारिताका साथ काम गर्न इन्जिनियरहरुलाई निर्देशन दिए।
जिम्मेवारी बोधका साथ काम गर्दै गए सचिव बन्न गाह्रो नभएको भन्दै मन्त्री चौधरीले सबैको सम्मान गर्दै, सबैलाई मिलाएर काम गरे मात्र सफल हुन सकिने धारणा राखेका थिए।
सहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहले कर्मचारीले सकभर कामै नगर्ने, फाइल नपल्टाउने, पुराना फाइल हेर्ने, अल्झाउने र समयमा निर्णय पनि नगर्ने गरेकै कारण जनतामा गुनासो बढेको बताए।
उनले विकासका काम गर्दा जनतालाई केन्द्रमा राखेर छिटो निर्णय गर्न निर्देशन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।