काठमाडौं– सर्वोच्च अदालतमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा फर्कने हल्लाकाबीचमा सुरक्षा व्यवस्था कडाई भइरहँदा इजलास गठन भएको छ।
गोलाप्रथाबाट ३२० मुद्दामा पेसी तोकिएको छ। जसका लागि १० वटा इजलास गठन भएका छन्। कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसहितको पूर्ण इजलास र ९ वटा संयुक्त इजलासमा पेसी तोकिएको हो।
न्यायाधीशहरुले इजलास सञ्चालन गर्ने तयारी गरेका छन्। गोलाप्रथाबाट पेसी तोकेकाले राणा आउने वा नआउनेसँग कुनै सम्बन्ध नभएकाे र आफूहरुले इजलास सुरु गर्न लागेको एक न्यायाधीशले बताए।
‘हामी इजलासमा जाने तयारीमा छौं,’ ती न्यायाधीशले भने, ‘चोलेन्द्र आउने हल्ला सुनेको हो। संविधान र कानुनले आउन दिन्छ र?’ उनले चोलेन्द्र सर्वोच्च आएमा प्रवेश दिने/नदिने कुरा प्रशासनको भएको तर आफूहरुले भने उनीसँग कुनै पनि सहकार्य नगर्ने ती न्यायाधीशले बताए।
शनिबार नै राणा फर्कने हल्ला चलेकाले न्यायाधीशहरुले आन्तरिक सल्लाह पनि गरेका थिए। आइतबार बिहान नेपाल बारले पनि आकस्मिक बैठक बसेर राणा आएमा आफूहरुले प्रवेश गर्न नदिने बताएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।