काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनका लागि आगामी निर्वाचनबाट कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाउने बताएका छन्।
लौहपुरुष गणेशमान सिंहको २५ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा नेता सीहले कांग्रेसलाई जनताले संविधान रक्षाका लागि फेरि सरकारको नेतृत्व गर्ने अवसर दिने दाबी गरेका हुन्।
उनले संविधान कार्यान्वयन र राजनीतिक स्थायित्वका लागि आगामी चुनावमा कांग्रेस नेतृत्वको गठबन्धनले जित्न आवश्यक रहेको बताए। स्थानीय तहलाई बलियो बनाएर शिक्षा, स्वास्थ्य, रोजगारीका विषयमा जनतालाई अनुभूत हुनेगरी काम गर्नुपर्नेमा नेता सिंहको जोड थियो।
सत्तागठबन्धनमा अहिले सिट बाँडफाँटका बारेमा छलफल भइरहेकाले छिट्टै निकास निस्कने नेता सिंहले दाबी गरे। ‘गठबन्धनमा रहेका सबै दललाई चित्त बुझाउने गरी सिट बाँडफाँट हुन्छ,’ गणेशमान सिंहको २५ औं स्मृतिमा आइतबार शोभा भगवतीमा आयोजित कार्यक्रममा उनले भने, ‘सबैलाई चित्त बुझाएर अघि बढ्ने हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।