काठमाडौं– प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमेशर राणा माथिको छानबिन सकेर प्रतिवेदन तयार पारेको छ। शनिबार अबेर राति सकिएको बैठकबाट प्रतिवेदन पारित भएपनि समितिका सदस्य (सांसद)हरु एकमत भने भएनन्।
राणालाई महाभियोग लगाउने कि नलगाउने भन्ने विषयमा सत्ता पक्ष र नेकपा एमालेका सांसदहरुबीच विवाद थियो। शनिबार दिउँसो राणाको पुरक बयान सकिएपछि सत्ता पक्ष र एमालेका सांसदहरुबीच महाभियोग सिफारिस गर्ने कि नगर्ने भन्ने विषयमा विवाद उत्पन्न भएको थियो।
विवादका कारण निष्कर्ष लेख्ने जिम्मा समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टलाई दिइएको थियो।
समितिको निष्कर्षअनुसार राणालाई महाभियोग लगाउने पक्षमा सत्ता गठबन्धनका सांसदहरु एकमत देखिए। नेकपा एमालेका ४ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का १ सांसद महाभियोगको विपक्षमा उभिए।
महाभियोग पक्षमा नेपाली कांग्रेसका रामबहादुर विष्ट, मिन विश्वकर्मा, माओवादी केन्द्रकी रेखा शर्मा, यशोदा सुवेदी गुरुङ, एकीकृत समाजवादी पार्टीकी कल्याणी खड्का र जनता समाजवादी पार्टीका प्रमोद साह रहेका छन्।
महाभियोगको विपक्षमा नेकपा एमालेका विष्णुप्रसाद पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाङ्फे, कृष्णभक्त पोखरेल र लोसपाका इकबाल मियाँ रहेका छन्।
राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधि सभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए। त्यतिबेलै महाभियोग सिफारिस समिति गठन भएको भए पनि अन्य प्रक्रिया अगाडि बढेका थिएन। साउनमा सो प्रस्तावलाई महाभियोग सिफारिस समितिमा पठाइएपछि छानबिन अगाडि बढेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।