काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग प्रस्तावका विषयमा निष्कर्ष लेख्ने जिम्मा महाभियोग समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले पाएका छन्।
महाभियोग सिफारिस समितिका बैठकको अध्यक्षता समेत गरिरहेका विष्टलाई निष्कर्ष लेख्ने जिम्मा दिने समझदारी जुटेको समितिका एक सदस्य (सांसद)ले नेपाल लाइभलाई जानकारी दिए।
शनिबार दिउँसो बसेको समितिको बैठकमा निलम्बित प्रधानन्यायाधीश राणासँग पुरक बयान लिइएको थियो। बयान सकिएपनि राणालाई महाभियोग लगाउने नि नलगाउने भन्ने विषयमा सत्ता गठबन्धन र एमालेका सांसदहरुबीच विवाद भएको थियो।
एमाले सांसदहरु राणाको बचाउमा उत्रिएका थिए भने सत्ता पक्षका सांसदहरुले राणाविरुद्ध महाअभियोग लगाउन सिफारिस गर्नुपर्नेमा जोड दिएका थिए।
दुवै पक्षका सांसदहरुबीच विवाद भएपछि निष्कर्ष लेख्ने जिम्मा ज्येष्ठ सदस्य विष्टलाई दिइएको हो। विष्टले दिएको निष्कर्षमा सबै सदस्यको चित्त बुझेमा एक मतले पारित गरिने ती सदस्यको भनाइ छ। चित्त नबुझेमा भने पुन: छलफल हुने छ।
अहिले निष्कर्ष लेख्नका लागि बैठक केही समयका लागि स्थगित गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।