काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वतन्त्र उम्मेदवारले जित हासिल गरे पनि काम गर्न नसक्ने दाबी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित ‘अबको दृष्टि, स्वाभिमानसहितको समृद्धि’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले बहुदलीय व्यवस्थामा स्वतन्त्र उम्मेदवारले जितेर संसद्मा केही काम गर्न नसक्ने दाबी गरेका हुन्।
उनले स्वतन्त्र उम्मेदवारले संसद्मा बोलेर अलिकति चेतना जगाउन सके पनि आमरुपमा कुनै परिवर्तन ल्याउन नसक्ने जिकिर गरे। आफू राष्ट्रिय सभा अध्यक्ष भएर पनि नियम, कानुनको सीमाका कारण आम रुपमा परिवर्तन ल्याउन नसकेको भन्दै स्वतन्त्र सांसदले झनै नसक्ने उनको दाबी थियो।
कार्यकारी अधिकार नभएको ठाउँमा गर्ने कामहरु कम हुने उनको भनाइ छ। अध्यक्ष तिमिल्सिनाले पार्टीको विकल्प स्वतन्त्र उम्मेदवार नभएको भन्दै सबैलाई पार्टीमा आवद्ध हुन आग्रह गरे।
पार्टीलाई नै सही मार्गमा हिँडाउन भूमिका खेल्न आग्रह गरे। अघिल्लो पुस्ताका नेताहरुमा त्याग गर्ने क्षमता भए पनि निर्माण गर्ने कुरामा कमजोरी रहेको उनको भनाइ थियो। अब देशमा विद्रोहको आवश्यकता नरहेको भन्दै उनले विद्रोह गर्नेलाई नभइ सिर्जना गर्नेलाई मतदान गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।