काठमाडौं– सर्वोच्च अदालतको भवन निर्माणमा सांसदहरुले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई किन तपाईं नै संलग्न हुनु भयो भनि केरकार गरेका छन्।
पुरक प्रश्न सोध्दै सांसदहरुले राणालाई फुलकोर्टमा नलिनुका साथै समितिमा किन छलफल नगरेको भन्दै प्रश्न गरेका थिए। एमाले सांसद कृष्णभक्त पोखरेलले प्रश्न शुरु गरेका थिए।
‘सर्वोच्च अदालतको भवन निर्माणमा ठेक्का सदर गर्नुभयो। मुख्य रजिष्ट्रारबाट गर्नुपर्ने, फुलकोर्ट राख्नुपर्ने थियो। किन यो नगरी आफैं निर्णय गर्नुभयो,’ उनले भने, ‘यसले त केही कैफियत देखिएन र?’
जवाफमा राणाले आफूले ठेक्का नलगाएको भन्दै पन्छाउन खोजेका थिए। ‘भवन निर्माणको कुरा सरकारमा पठाएका थियौं। ठेक्का दिने निर्णय मैले गरेको होइन,’ उनले भने, ‘न्यायलयको प्रमुखले गर्नु भनेर मन्त्रिपरिषद्बाट जवाफ दिएपछि मैले गरेको हुँ। कुनै अनियमितता र भ्रष्टाचार गरेको छैन।’
एमाले सांसद लालबाबु पण्डितले कार्यालय प्रमुख प्रशासनिक पद हो कि न्यायाधीश न्यायिक प्रमुख भन्दै प्रश्न गरेका थिए। ‘यसलाई एउटै ठाउँमा अधिकार प्रयोग गर्दा गलत हुन्छ कि हुदैन?’, उनले प्रश्न गरेका थिए।
यस्तै नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले भवन निर्माणको काम न्यायपालिका प्रमुखले नै गर्नुपर्ने कारण के हो? सहरी विकासले किन भवन नबनाएको हो? भन्दै प्रश्न सोधेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।