काठमाडौं– महाभियोग सामना गरिरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नो सम्पत्ति विवरण बाहिर ल्याएको भन्दै प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिको आलोचना गरेका छन्। आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेर समितिले नालायकीपन देखाएको राणाले टिप्पणी गरेका छन्।
शुनिबार महाभियोग सिफारिस समितिमा बयानका क्रममा राणाले प्रधानन्यायाधीश र न्यायाधीशको सम्पत्ति विवरण गोप्य राख्ने कानुनी व्यवस्था भएको अवस्थामा समितिमा आउनेवित्तिकै कसरी सार्वजनिक भयो भन्दै प्रश्न गरे। ‘मेरो सम्पत्ति (विवरण) बाहिर गयो। यो दुखद हो। कानुनले प्रधानन्यायाधीश र न्यायाधीशको सम्पत्ति गोप्य राख्ने भनेको छ,’ उनले भने, ‘यसमा मेरो गम्भीर आपत्ति छ। किन बाहिर गयो। यस्तो कुराहरुमा बाहिर लानु नालायकीपन हो।’
राणाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक भएको विषयमा प्रश्न उठाएपछि नेकपा एमालेका सांसदहरु उनको पक्षमा उभिएका थिए। एमाले सांसद लालबाबु पण्डित र शिवमाया तुम्वाहाम्फेले राणाको सम्पत्ति विवरण किन सार्वजनिक गरियो भन्दै समिति सभापतिले जवाफ दिनुपर्ने माग गरे।
‘हामीलाई वितरण गर्नुअघि कसरी बाहिर गयो? यो गम्भीर विषय हो,’ एमाले सांसद्हरुको भनाइ थियो।
एमाले सांसदहरुको प्रश्न र राणाले नालायकीपन भनेर टिप्पणी गरेपछि माओवादी सांसद यशोदा गुरुङले समितिमा आउनु अघि नै सार्वजनिक भएकाले समिति जिम्मेबार नहुने दाबी गरिन्। सांसद गुरुङले राणाले बोलेको ‘नालायकीपन’ शब्द रेकर्डबाट हटाउन माग गरिन्। लगत्तै समिति सभापति रामबहादुर विष्टले हटाउन निर्देशन दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।