काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले महाभियोग सिफारिस समितिको पुरक प्रश्नमा पनि जवाफ दिँदै सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाको मुद्दामा आफूले गलत फैसला नगरेको दाबी गरेका छन्।
पुरक प्रश्न सोध्नेक्रममा राणामाथि फैसलाबारे प्रष्ट पार्न समितिका सांसदहरुले सोधेका थिए। उनले त्यसमा गलत फैसला नगरेको र आफूले भनेको कुरामा विश्वास नलागेमा वा गलत भएकै लागेमा तत्कालीन समयमा मुद्दामा बहस गर्ने दुई जना वरिष्ठ अधिवक्ताहरुलाई सोध्न सकिने जवाफ दिए।
उनले उक्त मुद्दामा बहस गर्ने वरिष्ठ अधिवक्ताहरु शेरबहादुर केसी र गोविन्द शर्मा कोइरालाले बहस गरेकाले उनीहरुलाई गलत भएको हो? भनेर सोध्न सकिने बताए। रञ्जनको मुद्दामा श्रीमतीमाथि क्रुररतापूर्वक हत्यामा जन्मकैदलाई साढे ८ वर्षमा घटाउने फैसला सुनाएका थिए। उक्त फैसला विवादमा परेपछि सर्वोच्चमा पुरावेदन भएको थियो। सर्वोच्चले राणाको फैसला उल्ट्याएर जन्मकैद ठहर गरेको थियो। उनी अहिले थुनामा रहेका छन्।
राणाले न्यायाधीश विवादमा सबैले आफ्ना मानिसको चिट दिने अनि त्यही अनुसार छलफल गरेर नियुक्ति हुने गरेको दाबी गरे। २०४७ सालको संविधानदेखि नै न्यायाधीश नियुक्ति विवाद भएको राणाले जवाफ दिए।
उनले न्यायाधीश नियुक्तिमा राजनीतिक हस्तक्षेप छ भन्ने देखिएकै विषय भएको भन्दै न्याय परिषद्को संरचना नै राजनीतिक भएकाले यहाँ राजनीति हुने दाबी गरे।
राणाले न्यायाधीश नियुक्तिमा कुरा आएपछि महाभियोग सिफारिस समितिका सदस्यहरु कृष्णभक्त पोखरेल र शिवमाया तुम्वाहाम्फेले सोधेका थिए। उनीहरुले प्रधानन्यायाधीशले पेसी तोक्ने कुरामा विवाद भएको कुरा पनि सोधेका थिए।
प्रधानन्यायाधीश राणा गोलाप्रथाबाट पेसी तोक्ने र अटोमेशनमा जाने विषयमा विपक्षमा रहेको कुरामा पुरक प्रश्न गरेका थिए। उनले न्यायाधीशहरुको योग्यता र दक्षतालाई हेरेर पेसी तोकिने गरेको जवाफ दिए।
उनले आफूले गोलाप्रथाबाट न्यायाधीशलाई पेसी तोक्दा नतिजा नआउने कुरा हेरेर तोक्ने गरेको बताए। ‘गोलाप्रथाबाट हेर्न हो भने १४ जना सांसदहरुको मुद्दा हेर्नुपर्ने होइन खै त? फैसला भएको छैन,’ उनले भने ‘गोलाप्रथाले निकास दिँदैन। अहिले पनि धेरै मुद्दा स्थगित भएका छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।