काठमाडौं- नागरिकता विधेयकका सन्दर्भमा छलफल गर्न शीतलनिवास बोलाइएका लोसपा नेतासँग राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई चित्त दुखेको बताएकी छिन्। महतो लगायतका लोसपा नेताहरु गत भदौ ११ गते शीतल निवास गएका थिए।
प्रतिनिधि सभाको बिदाइ बैठकमा शनिबार सम्बोधन गर्दै महतोले भने, ‘अस्ति राष्ट्रपतिकहाँ हामीलाई बोलाइएको थियो। गएका थियौं। उहाँले एउटा कुरा भन्नुभयो- 'एकदम चित्त दुखेको छ मलाई।' मैले भने- ‘किन चित्त दुख्यो राष्ट्रपतिज्यु।’ उहाँले भन्नुभयो- ‘मैले पठाएको सुझाव संसद्मा छलफल गर्नुपर्ने हो। चार जना नेताले जस्ताको तस्तै पठाउने भनेको रहेछ। त्यो मलाई चित्त दुखेको छ।’
आफूले राष्ट्रपतिलाई तपाईंले बेकारमा चित्त दुखाउनुभएको बताएको महतोले बताए। ‘किन चित्त दुखाउनुहुन्छ? यो धन्दा त पहिले पनि गरेको होइन? संविधान ६०१ जनाले बनाएको हो र? चार जनाले १६ सूत्रीय षडयन्त्र गरेर त्यही अनुसार संविधान लेखेको होइन? यो धन्दा संविधान बनाउँदादेखि नै सुरु गरेको हो। त्यसैले किन चित्त दुखाउनुहुन्छ?’, उनले राष्ट्रपतिलाई भनेको विषय उद्धृत गर्दै भने।
कहिले कसले, कहिले कसले गर्दै सबै मिलेर नागरिकता विधेयक रोक्न लगाइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।