काठमाडौं- नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले नेपालमा गठबन्धनको प्रक्रिया सुरु भएको भन्दै यो लामै जाने सम्भावना दर्साए।
‘गठबन्धन जो पनि गरिरहेका छन्। कोही राप्रपासँग गठबन्धन गर्छन्, कोही कांग्रेससँग। कोही गणतन्त्रवादीसँग गर्छन्, कोही राजतन्त्रवादीसँग गर्छन्। आ–आफ्ना आवश्यकताका कुरा हुन्। त्यसो गर्न सबै स्वतन्त्र छन्। तर, देशको अग्रगति र प्रगतिलाई केन्द्रमा राखौं’, उनले भने।
प्रतिनिधि सभाको शनिबारको बिदाइ बैठकमा सम्बोधन गर्दै खनालले अहिले कुनै पार्टीले एकल बहुमत ल्याउँछु र एकल सरकार बनाउछु भन्ने कुरा दुर्लभ रहेको बताए। ‘हामीले जुन खालको संविधान बनाएका छौं। हामी बहुमत ल्याउँछौँ भन्ने आकांक्षा हामीहरुसँग छ। तर, त्यो आकांक्षाले मात्रै काम गर्दैन। व्यवहारमा कठिन छ’, उनले भने।
खनालले २०७४ सालमा गठबन्धन गरिएकाले नै एउटा संयोगले दुई तिहाइ बहुमत आएको बताए। ‘त्यतिबेला पनि गठबन्धन त हो नि चुनावमा। गठबन्धनबाटै गरेका हौं,’ खनालले भने, ‘२०७४ मा दुई तिहाइ सिट आएको गठबन्धनकै कारणले हो। गठबन्धनसँग नकारात्मक हुनुपर्ने, गठबन्धन भनेर अर्कै ढंगले हेर्नुपर्ने कुनै जरुरत छैन।’
आफूले वामपन्थीहरुको एकता गरौं भनेको तर सबैभन्दा ठूलो पार्टी हौं भन्नेहरु नै एकताको पक्षमा नरहेको खनालले बताए। बरु राजतन्त्रवादीसँग एकता गर्ने चिन्तन रहेको उनले बताए।
‘पाँच दलीय गठबन्धन गणतन्त्रवादीहरुको गठबन्धन हो। गणतन्त्रलाई सुदृढ नगरीकन समाजवादमा पुग्न सकिँदैन। संविधानले नै समाजवादमा पुग भनेको छ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।