काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीको समयमा सम्झन लायक कुनै पनि काम नभएको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको अन्तिम बैठकमा बोल्दै खनालले कम्युनिष्टको सरकार भए पनि केही गर्न नसकेको आरोप लगाए।
मनमोहन अधिकारीको ९ महिनाको सरकार हुँदा पनि धेरै राम्रा कामहरु गरेको तर अहिले केपी शर्मा ओलीले तीन वर्षसम्म केही काम गर्न नसकेको उनको आरोप थियो।
‘केपी शर्मा ओलीले गरेको काम सधै सम्झने के गर्नु भयो,’ खनालले भने, ‘धरहरा बनाए, रानी पोखरी बनाएभन्दा यो त प्रताप मल्ल र भिमसेन थापाले बनाएको होला नि? बनाउने को नाम हुन्छ कि मर्मत गर्ने को हुन्छ?’
उनले बहुमत प्राप्त सरकारले केही गर्न नसकेको आरोप लगाए। उनले शिक्षा र स्वास्थ्यमा पनि ओली सरकारले राम्रो काम गर्न नसकेको बताए। अहिले हरेक विश्वविद्यालयहरुमा समस्या रहेको भन्दै कतै तालबन्दी र कतै के समस्या रहेको उनले बताए। पछिल्लो समय विकासका नाममा नाटक भइरहेको नेता खनालको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।