काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानले नदिएको अधिकार प्रयोग गर्नुलाई प्रतिगमन भनिने भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ खण्डन गरेका छन्। निर्वाचन घोषणा गर्नु नै प्रतिगमन हो? भनेर अहिलेको सरकारलाई गरिएको प्रश्नको उत्तरमा उनले यस्तो बताएका हुन्।
प्रतिपक्ष दलका नेता ओलीले बोल्न बाध्य पारेको बताउँदै प्रचण्डले पार्टीभित्रको विवादमा तारो संसद्लाई बनाइएको स्पष्ट पारे।
‘प्रमुख प्रतिपक्ष दलका नेताले लोकतन्त्र र प्रतिगमनको व्याख्या गरेको सुनियो। जे भने पनि हुने रहेछ कि भन्ने लागेको छ,’ उनले भने, ‘संविधानमा अर्को सरकार गठनको सम्भवना हुँदै दलभित्र नै छलफल नै नगरी संविधानको भावना विपरीत प्रतिनिधि सभा विघटन प्रतिगमन नभए के हो?’
दाहालले अहिले पनि ओलीसँग गलत भएको कुरा महसुस नभएको टिप्पणी गरे। ‘यहाँ बस्ने कोही केही बुझदैनन वा जनता भेडै छन् भन्ने ठान्नु भएको हो कि?,’ उनले भने, ‘ निर्वाचन घोषणालाई हामीले कहिले प्रतिगमन भन्यौं, मेरो वहाँलाई प्रश्न छ?’
संविधानमा नभएको विघटन गरेर देशलाई अँध्यारोतिर लैजाने कार्य भएपछि प्रतिगमन भनेको उनले प्रष्ट पारे। उनले आफूलाई सामान्य समीक्षा मात्र गर्न मन लागेको तर फेरि पनि बोल्न बाध्य पारेको बताए।
गठबन्धनले वैशाख ३० गते संविधानको भावना अनुसार नै स्थानीय तह निर्वाचन गरेको दाबी दाहालले गरे। उनले अन्य धेरै कुरा चर्चा परिचर्चाभन्दा आउने मंसिर ४ को निर्वाचन सफल बनाउनेमा केन्द्रित हुने अपेक्षा गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।