काठमाडौं– प्रतिनिधि सभाको अन्तिम बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकाबीचमा घोचपेच भएको छ।
सुरुमा संसद्मा बोलेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा दुई पटक विघटन भएको तर अदालतबाट बदर भएकाले अहिले अन्तिम भेट भएको दाबी गरे।
उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ र जेठ ७ गते मध्यरातमा गरेको विघटन सम्झेका थिए। उनले सर्वोच्चको परमादेशले संसद् जोगिएको दाबी गरे।
उनी लगत्तै संसद्मा बोल्न पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवाको कुरामा टिप्पणी गरे। उनले प्रधानमन्त्रीले कुरा उठाएकाले आफूले बोलेको भन्दै प्रतिनिधि सभा विघटनको बचाउ गरे।
उनले अहिले निर्वाचनमा जानु नै रहेछ तर आफूले लैजाने कुरा गर्दा प्रतिगमन भएको आरोप लगाएको कुरा सम्झाए। ‘निर्वाचन घोषणा गर्नु प्रतिगमन हो? परमादेशबाट नक्कली सरकार गठन गर्ने कुरा प्रतिगमन हो’, ओलीले भने।
ओलीले यसरी जवाफ दिइरहँदा दुई पटक सर्वोच्चले असंवैधानिक भनेको विघटन गलत नभएको जिकिर गरे। उनले आफ्नो निर्णय उल्ट्याउने सर्वोच्चको फैसला र न्यायाधीशहरुले तक्मा पाउनेदेखि अहिले विभिन्न कुरा आएको भन्दै फैसला गलत भएको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।