काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अध्यात्मवादलाई अन्धविश्वास र अज्ञानताको संज्ञा दिएका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा १०औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले धर्मका नाममा ढुंगा पुज्दै हिँड्न विज्ञानसम्मत नभएको दाबी गरे। अध्यक्ष दाहालले अध्यात्मवाद वा परम्परागत जडताले समाजलाई विभेद, अपमान र उँचनिच बनाउने बताए। उनले विज्ञान प्रविधिले समानता, समाजवादतिर, न्यायतिर लैजाने उल्लेख गर्दै विज्ञानको बारेमा देशमा ठूलो बहस चलाउन आवश्यक रहेको बताए।
उनले नेपालमा तेत्तिसकोटी देवताको पूजा हुने गरेको तर मान्छेलाई लात हान्दै हिँड्ने गरेको बताए। ‘नेपालमा तेत्तिसकोटी देवता हुन्छन्, जताततै देवतालाई पूजा गर्दै हिँड्नुपर्ने, मान्छेलाई लात हान्दै हिँड्ने, ढुंगालाई पूजा गर्दै हिँड्ने संस्कार छ’, उनले भने, ‘नेपाली समाज अझै विज्ञानको क्षेत्रमा पस्न सकेको छैन।’
नाट्यकार बालकृष्ण समले ‘ज्ञान मर्दछ, हाँसेर, रोई विज्ञान मर्दछ’ भन्ने कवितांश सही नभएको उनको भनाइ छ। अध्यक्ष दाहालले यस्ता संस्कारले देशको विकास र विज्ञानको विकासमा अवरोध सिर्जना गरेको बताए।
आफूले धर्मलाई नकारात्मक नभनेको भन्दै अध्यक्ष दाहालले धर्मका नाममा मानिसमाथि हुने अपमान गलत भएको बताए। उनले भने, ‘मैले फेरि धर्मलाई नेगेटिभ भनेको होइन है। चुनावको बेला छ, प्रचण्डले भनेपछि घट्ला भन्ने डर पनि छ, छन् त। तर विज्ञान, प्रविधि दिवस भएकाले मैले त्यसलाई अपमान नगरीकन भनेको हो। हामी घरैपिच्छे पूजा गर्दै हिँड्ने मान्छेलाई पूजा गरे, गरिबलाई पूजा गरे कति राम्रो हुन्थ्यो।’
अध्यक्ष दाहालले देश विकासका लागि सबैले आफ्नो सोचाइ र हेराईको दृष्टिकोणलाई बदल्न वैज्ञानिक छलफल गर्न आवश्यक रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।