काठमाडौं– शनिबार प्रतिनिधि सभाको अन्तिम बैठक बस्दैछ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्राप्त संसद् अधिवेशन अन्त्यको पत्र पढेर सुनाउनेछन्।
यस्तै, सभामा प्रस्तुत हुन नसकेका मौखिक प्रश्नहरुको उत्तर सम्बन्धित मन्त्रीहरूबाट टेबुल गरिने कार्यसूची रहेको संघीय संसद्का महासचिव डा भरतराज गौतमले बताएका छन्।
आज शनिबार राति १२ बजेपछि प्रतिनिधि सभाको कार्यकाल सकिनेछ। त्यसकारण दिउँसोको बैठक यो कार्यकालको अन्तिम बैठक हुनेछ।
शुक्रबारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार संसद्को पाँच वर्षको कार्यकाल शनिबार मध्यरातिदेखि सकिन लागेको हो।
संसद्को ११औँ अधिवेशन अन्त्य गर्नका लागि सरकारले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरिसकेको छ।
आउँदो प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्नुअघि नै प्रतिनिधि सभाको आयु सकिने प्रावधान छ।
मंसिर ४ गतेका लागि तोकिएको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची आइतबार र सोमबार बुझाउने निर्वाचन आयोगको कार्यतालिका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।