काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले देशलाई ओरालो गतिमा लगेको आरोप लगाएका छन्।
शनिबार काठमाडौंको वसन्तपुरमा संविधान दिवसको उपलक्ष्यमा आयोजित ‘युवा सँगसँगै पदयात्रा’ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिले देश अफ्ठ्यारो स्थितिबाट आरोलो लागिरहेको बताए।
अध्यक्ष ओलीले गठबन्धनले ओरालो गतिमा लगेको देशलाई रोकेर अघि बढाउन राजनीतिक, लोकतान्त्रिक अभ्यास, संविधान कार्यान्वयन, शान्ति सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण, सुशासन, चौतर्फी विकासको अभ्यासको अभियानमा सशक्त ढंगले अघि बढ्ने बताए।
उनले यसको फैसला आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनले गर्ने दाबी गरे। अध्यक्ष ओलीले अहिले देशलाई, जनतालाई, लोकतन्त्र, संविधान, विकासको अभियानलाई हार्न दिन नहुने बताए।
गठबन्धनका कारण धक्का खाएको देशको अवस्थालाई चिरेर द्रुत गतिले विकास गर्नुपर्ने ओलीको भनाइ छ। उनले लोकतन्त्रको पक्षमा, राष्ट्रियता, राष्ट्रिय अखण्डताको पक्षमा, नेपाल नेपालीले नै चलाउने हो भन्ने अभियानका साथ अघि बढ्न आग्रह गरे।
अध्यक्ष ओलीले संविधान दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्ने बताए। संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन नेकपा एमालेले काठमाडौंमा बृहत वाकथन (पदयात्रा) गरेको उनको भनाइ छ। पदयात्रा बिहान ७ बजेबाट उपत्यकाका बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट सुरू भएको थियो।
पदयात्रा कार्यक्रममा अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य, महासचिव शंकर पोखरेल, उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगायतका नेताहरुको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।