काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईबीच छलफल भएको छ। छलफलका लागि प्रचण्ड शुक्रबार साँझ बाबुराम निवास टोखा पुगेका थिए।
भट्टराईले सामाजिक सञ्जालमार्फत् दिएको जानकारी अनुसार दुई नेताबीच ‘गम्भीर वैचारिक-राजनीतिक छलफल’ भएको छ। पारिवारिक वातावरणमा केही रमाइलो पनि भएको उनले फेसबुकमा उल्लेख गरेका छन्।
‘ऐतिहासिक जनयुद्धका उपलब्धि संस्थागत हुनुसट्टा गुम्दै गैरहेको र प्रतिगामी शक्तिहरूले टाउको उठाउॅदै गइरहेको सन्दर्भमा क प्रचण्डसँग गम्भीर वैचारिक-राजनीतिक छलफल! जनयुद्धको क्रान्तिकारी सारतत्वको सही संश्लेषण गर्दै एक्काइशौं शताब्दीमा समाजवादको नयाँ कार्यदिशा विकास गर्न सहकार्यमा जोड!‘, ट्विटरमा उनले लेखेका छन्।
आगामी निर्वाचनमा गोरखा- २ बाट उम्मेदवार बन्न लागेका भट्टराईले माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्रको हसियाँ हथौडाबाट प्रतिस्पर्धी बन्दैछन्। चुनावपछि दुई पार्टीबीच एकताको सम्भावना पनि बढ्दै गएका छन्।

प्रचण्ड र बाबुराम ४० को दशकदेखिका सहयात्री हुन्। उनीहरुकै मूल नेतृत्वमा नेपालमा ‘जनयुद्ध’ चलेको थियो। शान्ति प्रक्रियामा आएको झण्डै एक दशक पनि सँगै थिए। २०७२ सालमा संविधान जारी भएपछि डा भट्टराईले प्रचण्ड नेतृत्वको एमाओवादी परित्याग गरेका थिए।
माओवादी परित्याग गरेर भट्टराई नयाँ शक्ति, समाजवादी पार्टी, जनता समाजवादी पार्टीमा आबद्ध भइसकेका छन्। तर, कुनै पनि पार्टी अपेक्षाकृत सफल भएको पाइँदैन। उता प्रचण्डले निरन्तर नेतृत्व गरिरहेको माओवादी पनि खुम्चिँदै गएको विश्लेषण हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।