काठमाडौ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणसँग महाभियोग सिफारिस समितिले बयान लिएर तयार पारिएको प्रतिवेदन शनिबार बुझाउने भएको छ।
सिंहदरबारस्थित आज बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश राणालाई पहिलाकै प्रश्नमा केही अस्पष्ट विषयहरु सोधेर प्रतिवेदनलाई अन्तिम रुप दिने काम गरिएको र प्रतिवेदन शनिबार बुझाउने तयारी भएको सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए।
संसद् आगामी असोज १ गते राति १२ बजे सकिने भएकाले समितिले शनिबार नै संसद्मा प्रतिवेदन बुझाउने तयारी गरेको हो।
समितिले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, वरिष्ठ अधिवक्ता र अधिवक्तालाई बयानका क्रममा आएको सवालमा प्रश्न गर्नका लागि बोलाउने निर्णय गरेपनि सर्वोच्च अदालतका न्यायाधीश शक्ति पृथकीकरणको सिद्धान्तअनुसार जान नमिल्ने र पूर्वप्रधानन्यायाधीशहरुले पनि आफूहरु जान नमिल्ने पत्र समितिलाई पठाएपछि समितिले वरिष्ठ अधिवक्ता र अधिवक्तासँग मात्र वयान लिएको हो। राणाविरुद्ध गत फागुन १ गते प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।