संसदीय दलको अन्तिम बैठकपछि सामूहिक तस्बिर खिचाउँदै एमालेका महिला सांसदहरु
काठमाडौं- शुक्रबार नेकपा (एमाले) संसदीय दलको अन्तिम बैठक बस्यो। एमाले अध्यक्ष केपी शर्मा ओलीले सांसदका रुपमा खेलेको भूमिकाका लागि सबैलाई धन्यवाद दिए। सांसदका रुपमा असोज १ पछि भेट नहुने भन्दै मंसिर ४ पछि एमालेलाई जिताएर फर्किन निर्देशन दिए।
एमालेले चामत्कारिक रुपमा बहुमत ल्याउने भन्दै त्यही आत्मबलका साथ निर्वाचनमा सक्रिय हुन उनले भनेका छन्। उक्त बैठकमा केही यस्ता सांसद थिए, जो एमालेले बहुमत होइन, दुई तिहाई ल्याउँदा पनि सांसद् बन्न पाउने छैनन्।
किनभने एमालेले समानुपातिकको अवसर प्राप्त गरिसकेकालाई यसपल्ट नदोहोर्याउने निर्णय गरिसकेको छ। गत भदौ ११ गते बसेको बैठकले एकपटक समानुपातिकको अवसर पाएकोलाई पुन: नदिने निर्णय गरेको हो।
समानुपातिक पार्टीको साझा उप्लब्धि रहेको बताउँदै न्यायोचित वितरणका लागि दुई दिनदेखि जारी केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो। ‘समानुपातिक मत पार्टीको लोकप्रियताबाट प्राप्त हुन्छ। यो सामूहिक कमाइ हो। बन्दसूची तय गर्दा दामासाही वितरण प्रणाली अर्थात् न्यायोचित वितरण प्रणाली आवश्यक हुन्छ। एकचोटी अवसर प्रयोग गरेकालाई आमरुपमा दोहोर्याएर सिफारिस गर्न पाइने छैन’, उपमहासचिव पृथ्वी सुब्बा गुरुङले निर्णय सुनाउँदै भने।
जसले पार्टी छाडे
एमालले समानुपातिकमा ४१ सिट पाएको थियो। खसआर्य पुरुष कोटाबाट समानुपातिकमा अवसर पाउने एकमात्र सांसद मुकुन्द न्यौपानेसहित १० जना पार्टी छाडिसकेका छन्।
पार्टी छाड्नेमा आदिवासी जनजाति महिला रामकुमारी झाँक्री र बिनादेवी बुढाथोकी मगर, थारु महिला कोटाबाट सांसद बनेकी लक्ष्मीकुमारी चौधरी, दलित महिलाबाट निरादेवी जैरु र पार्वतीकुमारी विसुंखे, मुस्लिम महिलाबाट सांसद बनेकी कालिला खान र समिना हुसेनले एमाले छाडेका छन्।
यसैगरी मधेशी महिलाबाट सांसद बनेका डा. पुष्पा कुमारी कर्ण कायस्त र सरलाकुमारी यादव पनि एकीकृत समाजवादीमा पुगेका छन्।
1663335211.jpg)
प्रत्यक्षबाट सांसद बन्ने प्रयास
आदिबासी जनतजातिबाट सांसद बनेका डा विजय सुब्बा प्रत्यक्षबाट चुनाव लडेर सांसद बन्ने तयारीमा छन्। यसअघि दुईपल्ट प्रत्यक्षबाटै सांसद बनिसकेका उनीसहित प्रदेश सभा सदस्य तेजमान कन्दङवाको नाम सिफारिस गरिएको छ।
यसैगरी पिछडिएको क्षेत्रबाट सांसद बनेका मोहन बानियाँ मुगुबाट एमालेका उम्मेदवार बन्नेछन्। यसअघि एमालेबाट जितेका गोपाल बमले एकीकृत समाजवादी रोजेपछि उनका लागि प्रत्यक्षबाट चुनाव लड्ने मैदान खाली भएको हो। यसैगरी मधेशी महिला कोटाबाट सांसद भएर मन्त्री समेत हुने अवसर पाएकी जुली महतो धनुषा ३ बाट सर्वसम्मत सिफारिस भएकी छिन्।
मधेसी पुरुषबाट समानुपातिक बनेका सांसद मोतीलाल दुगड मोरङको कुनै क्षेत्रबाट प्रत्यक्ष चुनाव लड्ने आशासहित अध्यक्ष केपी शर्मा ओलीको संकेत पर्खिरहेका छन्।
आदिवासी जनजाति महिलाबाट सांसद बन्ने अवसर पाएकी नबिना लामा काभ्रे १ बाट प्रत्यक्षमा सिफारिस भएकी छिन् तर उनले टिकट पाउने निश्चित छैन। किनभने उनीसँग अन्य पाँचजना पनि सिफारिसमा परेका छन्।
थारु महिलाबाट समानुपातिक सांसद रहेका शान्ता चौधरी र गंगा चौधरी सत्गौवा दाङ १ बाट प्रत्यक्षमा सिफारिस भएका छन्। उनीहरु दुईजनासँगै रेवतीरमण शर्मा पनि सोही क्षेत्रबाट सिफारिस छन्। मेटमणि चौधरीले एकीकृत समाजवादी रोजेपछि उनीहरुमध्ये एक सांसदका लागि उम्मेदवार बन्नेछन्।
यसैगरी खश अर्य महिलाबाट समानुपातिक सांसद बनेकी निरुदेवी पाल कञ्चनपुर- ३ बाट प्रत्यक्ष चुनाव लड्ने तयारी गरिरहेकी छिन्। उक्त क्षेत्रमा डा दीपकप्रकाश भट्ट सांसद छन् र पालसँगै उनी पनि सिफारिस भएका छन्।
यसैगरी दलित महिलाबाट समानुपातिक सांसद बनेकी आशाकुमारी विक बझाङबाट उम्मेदवार बन्ने कसरतमा छिन्। उनीसँगै बझाङबाट भैरव सिंह, ऐन महर लगायत पनि सिफारिस भएका छन्। समानुपातिकबाट सांसद बनेर उपसभामुख समेत बनिसकेकी शिवमाया तुम्बाहाङ्फेले मोरङ १ बाट चुनाव लड्ने अपेक्षा पेश गरेकी छिन्। उनीसँग वर्तमान सांसद घनश्याम खतिवडा पनि दोहोरिएर प्रत्यक्ष निर्वाचन लड्ने तयारी गरिरहेका छन्।
जसको सम्भावना लगभग सकियो
प्रत्यक्षमा सिफारिस नभएकाहरुको आगामी निर्वाचनबाट सांसद बन्ने सम्भावना लगभग सकिएको छ। आदिवासी जनजाति महिलाबाट सांसद बनेकी थममाया थापा, तुल्सी थापा, सुजिता शाक्य, बिना श्रेष्ठ, शान्ति माया तामाङ पाख्रिन र कुमारी मेचे फेरि सांसद बनेर आउने सम्भावना देखिएको छैन।
यसैगरी खसआर्य महिला कोटाबाट सांसद बनेका राधाकुमारी ज्ञवाली, बिन्दा पाण्डे, गोमा देवकोटा, कल्याणी कुमारी खड्का, मनकुमारी जिसी, मायादेवी न्यौपाने, विष्णु शर्मा, सरिता न्यौपाने, मैना कुमारी भण्डारी, तीर्था गौतम पनि यसपल्ट समानुपातिका नपर्ने देखिएको छ।
यसैगरी दलित महिलाबाट सांसद बनेका बिमला विश्वकर्मा, बिमला विक र मधेशी महिला कोटाबाट सांसद बनेका सानु शिवा, रेखाकुमारी झा र सरिताकुमारी गिरि यसपल्ट संसदमा देखापर्ने संभावना न्युन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।