काठमाडौं– महाभियोगको समाना गरिरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सम्पत्ति विवरण प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिमा पुगेको छ।
राणाले न्याय परिषद्मा बुझाएको सम्पत्ति विवरण परिषद्ले शुक्रबार संसदीय समितिमा पठाएको हो। समितिलाई प्राप्त सम्पत्ति विवरणमा राणाले आफूसँग ५९ लाख रुपैयाँ बैंक मौज्दात (बैंक खातामा जम्मा) रहेको बताएका छन्। यस्तै, बैंकबाट ९ करोड ५० लाख रुपैयाँ ऋण लिएको पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।
राणाको सम्पत्ति विवरण माग्दै संसदीय समितिले शुक्रबार नै परिषद्लाई पत्र लेखेको थियो। राणाले आफू प्रधानन्यायाधीश भएपछि परिषद्मा सम्पत्ति विवरण वुझाएका थिए। राणाले बुझाएको सम्पत्ति विवरणमा आम्दानीभन्दा धेरै ऋण देखाइएको छ।
२०७८ साउनसम्म जबराको नाममा बैंक अफ काठमाडौंमा ५९ लाख २६ हजार रुपैयाँ नगद बचत रहेको छ।
त्यस्तै, श्रीमती रेजी क्षेत्री राणाको नाममा काठमाडौंको वडा नम्बर ५ मा १ रोपनी ८ आना ३ पैसा १ दाम जमिन रहेको विवरणमा उल्लेख छ। उक्त जग्गाको २०७७ मा ८ करोड २६ लाख रुपैयाँमा खरिद गरिएको दाबी गरिएको छ। उक्त जग्गामा पुरानो घरसमेत रहेको विवरणमा उल्लेख छ।
राणाले ठमेलको जग्गा धितो राखेर प्राइम बैंकबाट ऋण लिएको दाबी गरेका छन्। ठमेलको घरजग्गा धितोमा राखी ९ करोड ५० लाख ऋण लिएको विवरणमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।