काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले नेतत्वको सरकारले राष्ट्रिय अखण्डता, राष्ट्रिय हित लगायतका क्षेत्रमा असाधारण काम गरेको दाबी गरेका छन्।
शुक्रबार सिरहाको चोहर्वामा आयोजित आम सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘पाँच वर्षको कार्यकाल कसरी पूरा भयो भन्ने कुरामा समीक्षा गरेका छौं। नेकपा एमाले पार्टी र एमाले नेतृत्वको सरकारले देशको राष्ट्रियता, सार्वभौमसत्ता, स्वाधिनता, स्वतन्त्रता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका लागि असाधारण योगदान गरेको छ।’
ओलीले हुलाकी राजमार्ग निर्माणदेखि, मदन भण्डारी राजमार्ग निर्माण, झोलुंगे पुल निर्माणका क्षेत्र लगायत थुप्रै विकास निर्माणका कुराहरुमा नेकपा एमालेले असाधारण काम गरेको दाबी गरे। उनले एमालेका जनप्रतिनिधिहरुले केन्द्रदेखि स्थानीय तहसम्म पाँच वर्षे कार्यकाल सानदारका साथ सम्पन्न गरेको बताए।
एमालेलाई सिध्याउनका लागि अनेक षड्यन्त्र भए पनि त्यो सफल नभएको उनको भनाइ थियो। ओलीले मंसिर ४ को निर्वाचनमा केन्द्रित हुन नेता कार्यकर्तालाई निर्देशन दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।