काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्को ५ वर्षे कार्यकालको सबैभन्दा राम्रो काम चुच्चे नक्सा प्रकाशित गर्नु रहेको बताएका छन्। एमाले संसदीय दलको अन्तिम बैठकलाई सम्बोधन गर्दै ओलीले संसद्को यो कार्यकालको सबैभन्दा खराब काम भने पार्टी विभाजन गर्नु रहेको उल्लेख गरेका छन्।
एमाले संसदीय दलकका प्रमुख सचेतकक विशाल भट्टराईका अनुसार महत्वपूर्ण उपलब्धि नै संविधान संशोधन गरेर लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्सा प्रकाशित गर्नु रहेको संसदीय दलका नेता ओलीले उल्लेख गरेका थिए।
संसद्को पाँच वर्षको संक्षिप्त समीक्षा गर्दै उनले भने, ‘महत्वपूर्ण काम चुच्चे नक्सा प्रकाशित गर्नु भयो भने सबैभन्दा खराब काम अध्यादेशबाट पार्टी विभाजन गर्नु रह्यो।’
भट्टराईका अनुसार ओलीले असोज १ गतेसम्म मात्रै संसद्मा आउने बताए। अध्यक्ष ओलीले पार्टीका सबै सांसदहरुलाई चुनावमा खट्न निर्देशन दिए। एमालेले चामत्कारिक परिणाम ल्याउने बताउँदै ओलीले त्यही मनोवलका साथ कार्य क्षेत्रमा जान निर्देशन गरेका हुन्।
‘हाम्रो बहुमत आउँछ। धेरैले अनुमान गरेको भन्दा फरक परिणाम आउँछ। तपाईंहरु चुनावमा खट्नुहोस्,’ ओलीले भने। उनले सरकामा हुँदा होस् वा नहुँदा संसद्मा खेलेको भूमिकाका लागि सबैलाई धन्यवाद दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।