काठमाडौ– महाभियोग लागेर निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले महाभियोग सिफारिस समितिमा दिएको बयानमा हस्ताक्षर गर्न थालेका छन्।
नेकपा एमालेका सांसदहरुले राणाले समितिमा दिएको बयान उतारेर हस्ताक्षर गराउनुपर्ने माग गरेका थिए। पूरक प्रश्नका लागि राणालाई समितिमा बोलाइएको थियो। तर समितिका सदस्यहरुका बीचमा एकमत हुन नसकेपछि राणाले भदौ १५, १६, १९, २६ र २८ गते दिएको बयानलाई उतारेको पत्र (भर्बेटम) का सबै पानामा हस्ताक्षर गर्न लागेको र त्यसमा सचिवालयका कर्मचारीले पढेर सुनाउने अनि उनले सही गर्ने क्रम चलिरहेको नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले बताए।
यसअघि समितिमा भिडियो र अडियोमा दिएको बयान आफ्नै हो भनेर एक पेजको कागज हस्ताक्षर गरिदिने राणाले बताएका थिए। तर उनले शुक्रबार सबैमा हस्ताक्षर गराउनुपर्ने माग गरेपछि समितिमा एमालेले पनि यसैमा अडान राखेको थियो।
उनले कागजमा उतारेको बयान आफूले सुनेपछि मात्रै हस्ताक्षर गर्ने अडान राखेका थिए। कांग्रेस सांसद विश्वकर्माले भने करिब १ सय ७४ पेजको डकुमेन्ट भएको हुनाले भिडियो र अडियोमा नै हस्ताक्षर गर्छु भनेको तर अहिले आएर नगरेपछि सबै पढेर सुनाउन थालिएको बताए।
प्रतिपक्षी एमालेका सांसद र राणाले हरेक पानामा हस्ताक्षर चाहिन्छ भनेकाले लेखेका कुरा सुनाउँदै हस्ताक्षर लिँदै गरिरहेको हो। यसरी हस्ताक्षर गराउँदा समय अभाव भएकाले आजको बैठकमा पूरक प्रश्न अन्योलमा परेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।