काठमाडौँ– निर्वाचन आयोगले २०७४ सालमा दलहरुले बुझाएको समानुपातिक तर्फको बन्दसूची शनिबार राति १२ बजेपछि स्वत: कायम नरहने बताएको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै आयोगले गरेको उक्त निर्णयको जानकारी राजनीतिक दललाई दिने तथा नेपाल राजपत्रमा प्रकाशन गर्ने उल्लेख गरेका छन्।
समानुपातिक तर्फको बन्दसूची कायम नरहने भएपछि प्रतिनिधि सभाको कार्यकाल शनिबारबाटै समाप्त हुने छ ।
'राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको मिति २०७९।०५।२८ को पत्र तथा मिति २०७९।०५।२९ को राजनीतिक दलसँगको बैठक वाट प्राप्त सुझाव समेतका आधारमा संवत् २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि राजनीतिक दलले पेश गरी निर्वाचन आयोगले प्रकाशन गरेको उम्मेदवारको बन्दसूची मिति २०७९।०६।०१ गते राति १२:०० बजेदेखि स्वतः कायम नरहने गरी आयोगले निर्णय गरेको छ' आयोगको विज्ञप्तिमा छ,' आयोगले गरेको उक्त निर्णयको जानकारी प्रतिनिधिसभा, प्रदेश सभा, संघीय संसद राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र राजनितिक दलहरुलाई दिने तथा नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णयसमेत गरेको छ ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।