दाङ- – नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा दाङ क्षेत्र नं. १ मा चुनाव लड्ने भएका छन्।
माओवादी केन्द्रले दाङ १ बाट कृष्णबहादुर महरालाई प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिस गरेको छ। यसअघि महराको नाम दाङ २ बाट पनि सिफारिस भएको थियो। उनलाई रोल्पाबाट पनि सिफारिस गरिएको छ।
पार्टी उपाध्यक्षसमेत रहेका महरा सुरक्षित स्थानको खोजीमा रहेको देखिन्छ। दाङ २ मा एमालेबाट महासचिव शंकर पोख्रेलको नाम सर्वसम्मत सिफारिस भएपछि महरा र पोख्रेलको प्रतिस्पर्धा हुने देखिएको थियो। फेरि महराको नाम क्षेत्र नं. १ बाट पनि सिफारिस भएको छ।
गत स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकामा एमालेले गठबन्धनका उम्मेदवारलाई ५ हजार ३ सय ६० मतले हराएको थियो। महाराले आफ्नो जित सुनिश्चित गर्न सुरक्षित क्षेत्र खोजिरहेको माओवादीकै स्थानीय नेता बताउँछन्।
क्षेत्र नं. १ मा गठबन्धनबाट एकीकृत समाजवादीले पाउने प्रारम्भिक सहमति बाहिर आएको छ। महराका लागि समाजवादीका मेटमणि चौधरीले त्याग गर्नुपर्ने देखिन्छ।
क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा महरासहित नारायणी शर्मा, लुमबहादुर कार्की र होमप्रसाद शर्मालाई सिफारिस गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।