काठमाडौं- नेपाली कांग्रेसले आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि समानुपातिक उम्मेदवारका लागि सिफारिस भएकाहरुको कलस्टर छुट्याउने जिम्मा सहमहामन्त्रीलाई दिएको छ।
कांग्रेस केन्द्रीय संसदीय समितिको बिहीबार बसेको बैठकले देशभरबाट समानुपातिक सांसदको उम्मेद्वारहरुका नाम सिफारिस भएकाहरुको क्लस्टर छुट्याउने जिम्मा सहमहामन्त्रीहरुलाई दिएको सहमहामन्त्री जीवन परियारले नेपाल लाइभलाई जानकारी दिए।
कांग्रेसमा समानुपातिक तर्फका लागि एक निर्वाचन क्षेत्रबाट एक जना उम्मेदवार हुने गरी उम्मेदवार चयन गर्ने मापदण्ड बनाइसकेको छ। मापदण्डअनुसार स्थानीय तहमा उम्मेदवार भएको व्यक्तिलाई उम्मेदवार नबनाउने, ०७४ मा समानुपातिकतर्फ उम्मेदवार भएका व्यक्तिसमेत पुनः उम्मेदवार बन्न नपाउने र उच्च नैतिकता, योग्यता, क्षमता भएका र पार्टीको पक्षमा लोकप्रिय मत थप्ने नेताहरूलाई प्राथमिकतामा राख्ने बनाइएको छ।
नेपाली कांग्रेसले प्रदेश कार्यसमितिबाट आएका नामका आधारमा संसदीय समितिले उम्मेदवार चयन गर्ने व्यवस्था छ। २ र ३ असोजभित्र समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाइसक्नुपर्ने निर्वाचन कार्यतालिका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।