काठमाडौं- राष्ट्रिय जनमोर्चाले मंसिर ४ को चुनावले देश प्रतिगमनको दिशामा जानेछ वा त्यसलाई रोक्न सकिने छ भन्ने फैसला गर्ने बताएको छ।
सो पार्टीका महासचिव मनोज भट्टले बिहीबार जारी गरेको विज्ञप्तिमा चुनावपछि देश प्रतिगमनको बाटोमा नजाओस् भन्नका लागि चुनावमा प्रतिगामी शक्तिलाई निर्णयात्मक रुपले पराजित गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। त्यसका लागि पाँच दलीय चुनावी तालमेललाई सफलतापूर्वक सम्पन्न गर्नु अहिलेको देशको राष्ट्रिय आवश्यकता भएको बताइएको छ।
'अहिलेसम्म पाँचदलीय गठबन्धन वा चुनावी तालमेलका कारणले प्रतिगमन बारम्बार पराजित हुँदै आएको छ। हामीले कोसिस गर्नुपर्दछ, आगामी चुनावमा पनि त्यही प्रकारको सफलता प्राप्त होस्। त्यो नै देश र जनताको व्यापक हितमा हुनेछ। यदि प्रतिगमन विजयी भएमा जनताका महान आन्दोलनहरुद्वारा प्राप्त उपलब्धिहरु, खास गरेर लोकतन्त्र, गणतन्त्र वा धर्मनिरपेक्षता समेत समाप्त हुने खतरा रहनेछ। त्यसैले पाँचदलीय चुनावी तालमेललाई सफलतापूर्वक अगाडि बढाउनु अहिलेको राष्ट्रिय आवश्यकता भएको छ', विज्ञप्तिमा भनिएको छ।
राजमोले पाँचदलका बिचमा पाँचदलमध्ये पहिले जसले जुन सिटहरु जितेको छ, त्यहाँ त्यसलाई नै त्यो सिट दिने र एमालेले जितेका स्थानहरुमा आपसमा समझदारी गरेर सिटहरु बाडेर चुनाव लड्ने समझदारी भएको बताएको छ। 'त्यस अनुसार नै प्यूठानमा पहिले राजमोले जितेको हुनाले त्यहाँ हामीले दाबी गरेका छौँ भने बागलुङमा पहिले एमालेले जितेको क्षेत्र नम्बर १ मा हामीले दाबी गरेका छौं', विज्ञप्तिमा उल्लेख छ।
राजमोले बागलुङको क्षेत्र नं. १ मा अध्यक्ष चित्रबहादुर केसी तथा प्यूठानमा उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको पनि जानकारी गराइएको छ। 'पाँच दलबीचको बैठकमा राजमोको उक्त दुवै दाबीलाई सामान्यतः स्वीकार गरिएको छ।
तर प्यूठान र बागलुङका उक्त दुवै सिट राजमोलाई दिनेबारे पाँच दलका बीच सामान्य प्रकारको समझदारी बनेको भए पनि त्यसबारे औपचारिक रुपमा अन्तिम निर्णय हुन र पाँचदलका तर्फबाट आधिकारिक रुपमा घोषणा हुन बाँकी भएको कुरा हामीले स्पष्ट गर्न चाहन्छौं', विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।