काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्न भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको आरोप लगाएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले तत्कालीन नेकपा सरकारमा प्रधानमन्त्री रहँदा ओलीले भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्न भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको आरोप लगाए। उनले भ्रष्टाचार बढ्नुमा कुनै एक व्यक्तिको मात्रै दोष हो वा अहिलेको शासन प्रणालीमा कतै खोट छ ? भन्ने बारेमा विचार गर्न आवश्यक रहेको बताए।
उनले भ्रष्टाचारीलाई कारबाही गरी भ्रष्टाचार गर्नेलाई स्थान नदिने शासन प्रणालीको विकास हुन जरुरी रहेको बताए । अध्यक्ष प्रचण्ड निर्वाचन प्रणाली र शासन प्रणालीमा सुधार गरेर अहिलेको विकृति, विसंगतिलाई सुधार्न सकिने बताए।
उनले प्रचण्ड अस्थिरताको कारक हो भन्ने मानिसको कमी नरहेको र प्रचण्ड रहेसम्म देशले सुख नपाउने भन्ने कुरा पनि केही मानिसहरुले गर्ने गरेको गुनासाे गरे। उनले माओवादी रहँदासम्म, बुर्जुवा, दलाल, नोकरशाह र भ्रष्टहरुलाई चैनमा बस्न नदिने बताए।
‘हामीले कृषिप्रधान देश र कृषिमा आधारित उद्योगमार्फत नै नेपालको विकासले गति लिन्छ पनि भनेका छौं’ उनले भने, ’तर खाद्यान्न आायत गरिरहेका छौँ, जमिन बाँझो छ, युवाशक्त्ति विदेशमा छ, रेमिट्यान्स आएको छ र हामी चलेका छौं’को स्थिति हामीले भोगिरहेका छौं । त्यसकारण यो परिस्थिति बदल्नुछ, कसले बदल्छ भन्ने मेरो चिन्ता, यस खालका फोरममा यसबारे गम्भीर ढंगले अपिल गर्दै आइरहेको छु।’
उनले राजनीतिक दल र उद्योगीहरुमा सामाजिक न्याय र आर्थिक विकासको नयाँ गति प्रदान गर्ने जिम्मेवारी रहेको बताए। ‘साग-शब्जीदेखि, माछामासु, चाडपर्वमा आवश्यक पर्ने घरघरमा बन्ने सामान पनि विदेशबाट आयात गर्नुपर्ने अवस्था छ । नेपालको पहिचान गुन्द्रक पनि विदेशबाट ल्याउने भनेपछि हाम्रो आर्थिक अवस्था कति गम्भीर र जटिल छ भन्ने कुरा यसले स्पष्ट देखाएको छ । यसलाई बदल्नु छ’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।