काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपामा आफूले प्रचण्डलाई मान-सम्मान दिएर आफ्नो सिटको छेउमा राखेको बताएका छन्।
बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै ओलीले आफूले अँगालो हालेको तर प्रचण्डले भने छुरी रोपेको आरोप लगाए।
'प्रचण्डलाई मैले मानसम्मानपूर्वक मेरो सिटको छेउमा एकताबद्ध भएर जाऔँ भनेर मैले अँगालो हालेको थिएँ प्रचण्डलाई, हात मिलाएको मात्रै होइन। तर प्रचण्डले हात लुकाइलुकाइकन हिँड्थे। म अलिअलि होशियार त थिएँ। नभन्दै मैले अँगालो मार्ने, प्रचण्डले ग्वाम्मै छुरी रोपे', ओलीको भनाइ छ।
नेकपा विवाद उत्कर्षमा रहेकै बेलामा तत्कालीन प्रधानमन्त्रीको रुपमा ओलीले प्रतिनिधि सभा विघटन गरेका थिए। त्यसपछि पार्टीको बहुमत पक्षले उनलाई पार्टीको साधारण सदस्यबाट समेत निकालेको थियो। सोही प्रसंग सम्झिँदै ओलीले भने, 'पार्टी सदस्यबाटै निकालेको थिएँ भनेर उनले गर्व गरे। म एकता एकीकरण भन्ने, पार्टी आन्दोलन जोगाउनुपर्छ भन्ने। प्रचण्ड मलाई साधारण सदस्यबाट निकाल्ने। कस्तो विषालु दाँत पालेर बसेका रहेछन्। कस्तोसँग मैले एकता गरेको रहेछु।'
उनले आफूले एकता भनेको र प्रचण्डलाई महाधिवेशनपछि अध्यक्ष बनाउने भनेको पनि बताए। 'उनी (प्रचण्ड) मसँग बहुमत पुगिसक्यो। बहुमत पुगेको बेलामा म निकाल्छु भन्ने', ओलीले भने, 'एकता एकीकरणको लागि मैले दिएको बहुमत, मैले दिएको बरदान मेरै टाउकामा हात राखेर मलाई नै भष्म पार्न खोज्ने। केपी ओलीलाई मैले पार्टी सदस्यबाटै निकालेको थिएँ भन्छन्। कत्रो गर्वका साथ! कत्रो बेइमानी, कत्रो धोका! त्यसरी हुन्छ आन्दोलन?'
ओलीले आफूले नै प्रचण्डलाई पार्टी एकताको प्रस्ताव राखेको पनि दाबी गरे। 'मैले प्रचण्डलाई आउनुस् मित्र, एकीकृत पार्टी बनाऔँ। बलियो वामपन्थी आन्दोलन बनाऔँ। बलियो कम्युनिस्ट पार्टी बनाऔँ। समाजवादतर्फ अगाडि बढौँ। एकताबद्ध भएर अगाडि बढौँ भनेर अध्यक्ष बनाएर मेरो सिटको छेउमा राखेको थिएँ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।