काठमाडौं- हराएको नागरिकतामार्फत कम्पनी खोलेर टगी धन्दा सञ्चालन गरेको आरोपमा पक्राउ परेका तीन जना जेल चलान भएका छन्।
भक्तपुरको ठिमी नगरपालिका-९ का २८ वर्षीय सुरेश भनिने प्रदीप कर्माचार्य, मुगुको खत्याड गाउँपालिका-११ का २४ वर्षीय विशाल कार्की र खत्याड-८ कै २१ वर्षीय रामकृष्ण रावतलाई जिल्ला अदालतले जेल चलानको आदेश दिएको हो।
न्यायाधीश दीपककुमार खरेलका बुधबारको इजलासले उनीहरुलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको हो। उनीहरु विरुद्ध ठगी तथा लिखत कीर्ते सम्बन्धी कसुरमा मुद्दा चलाइएको थियो।
जिल्ला प्रशासन कार्यालय कन्चनपुरबाट जारी भएको निरज पाण्डेय नामको नागरिकता हराएको थियो। उक्त नागरिकतामार्फत कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरमा एभरेष्ट लिंक इन्टरनेसनल एजुकेसन प्रालि नामको कम्पनी दर्ता गरिएको थियो।
पाण्डेयको नागरिकताबाट कम्पनी खोलेका उनीहरुले कुमारी र सेन्चुरी बैंकमा खातासमेत खोलेका थिए। त्यसपछि वैदेशिक रोजगारीमा रसिया पठाउने भन्दै रकम कुमारी र सेन्चुरी बैंकको खातामा हाल्न लगाएर ठगी गरेको खुलेको थियो।
नागरिकताको दुरुपयोग गरी ठगी गरेको थाहा पाएपछि पाण्डेयले प्रहरीमा जाहेरी दिएका थिए। सोही आधारमा तीन जनालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई भदौ १ गते पक्राउ गरेको थियो।
पक्राउ परेकामध्ये कर्माचार्य कम्पनीको सिइओ कार्की पाण्डेयको नागरिकता आफ्नो भएको भन्दै बैंकमा खाता खोल्ने व्यक्ति र रावत कम्पनीको सहजकर्ता भएको खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।