काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता अहिले पनि माओवादी केन्द्रको हातमा देशको चाबी दिन चाहिरहेको बताएका छन्।
बिहीबार माओवादी नेता पोष्टबहादुर बोगटीको ८औं स्मृति दिवसलाई सम्बोधन गर्दै प्रचण्डले माओवादी आन्दोलनकै कारण समावेशी, समानुपातिक लोकतन्त्र स्थापना भएको दाबी गरे।
उनले भने, ‘माओवादी आन्दोलनको जगमा निर्मित जनयुद्ध र जनआन्दोलनको समायोजनबाट मात्रै यो सम्भव भएको हो। मुख्य त माओवादी आन्दोलन, माओवादी जनयुद्ध नै हो।’
दाहालले माओवादी पार्टी कमजोर भयो भने कुनैपनि बेला त्यत्रो संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धि उल्टाउने षड्यन्त्र हुन सक्ने आशंका व्यक्त गरे।
उनले एउटा सपना देखेर वाम आन्दोलनलाई एकतावद्ध गर्ने र त्योमार्फत राष्ट्रिय सहमति, राजनीतिक स्थायित्व र समाजवादको ‘महानयात्रा’ भनेर देखेको सपना पूरा हुन नसकेको बताए।
उनले भने, ‘वामपन्थी आन्दोलन र कम्युनिष्ट आन्दोलनभित्रै पूर्वाग्रह भनौं या व्यक्तिवादी अराजकता, असाध्यै आत्मकेन्द्रित प्रवृत्तिका कारणले देश झण्डै झण्डै पोहोर साल दुर्घटनामा जान सक्ने खतरा पैदा भएको थियो।’
उनले देशको राजनीति कतातिर लैजाने भन्ने फैसला माओवादीले गरोस् भन्ने चाहना जनतामा प्रष्ट देखिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।