काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि छानबिन गर्न गठित संसद्को महाभियोग समिति बैठक सरेको छ।
समितिले बयानका लागि सर्वोच्च अदालतका न्यायाधीशहरूलाई बैठकमा बोलाएको थियो। तर उनीहरुले बैठकमा आउन अस्वीकार गरेपछि समिति बैठक सरेको हो।
बिहीबार बिहान ८ बजेदेखि बस्ने तय गरिएको बैठक दिउँसो १ बजेसम्म सरेको समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए।
महाभियोग समितिले दिउँसो १ बजे चार जना पूर्व न्यायाधीशहरूलाई बैठकमा बोलाएको छ।
राणालाई लागेको महाअभियोग प्रस्तावबारे छानबिन समितिमा सोधपुछका लागि सर्वोच्च अदालतका न्यायाधीशहरू नजाने बुधबार नै निर्णय गरेका थिए।
सर्वोच्च अदालतका सबै न्यायाधीशहरूको बैठक (फुल-कोर्ट) ले राणाको महाअभियोग छानबिन समितिमा सोधपुछका लागि जान नमिल्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।