फाइल तस्बिर
काठमाडौं- नेकपा (माओवादी केन्द्र) ले काठमाडौं क्षेत्र नं. २ का लागि पूर्वसभामुख ओनसरी घर्तीमगरको नाम सिफारिस गरेको छ ।
बुधबार माओवादी केन्द्रले घर्तीलाई काठमाडौं २ मा उम्मेद्वारका लागि नाम सिफारिस गरेको हो । घर्तीले पार्टीको निर्णय भएको बताउँदै गठबन्धनले भने टुंग्याउन बाँकी रहेको नेपाल लाइभ डटकमलाई जानकारी दिइन् ।
घर्तीले भनिन्- ‘काठमाडौं २ मैले रोजेको हैन । यो पार्टीले गरेको निर्णय हो । मेरो के थियो भने एक नम्बरमा म समानुपातिकमा नजाने । पार्टीले मलाई दुई पटक समानुपातिक दिइसक्यो । प्रत्यक्ष पनि जितेको हो म। त्यसैले मलाई कुनैपनि रहर छैन । पार्टीले आवश्यक ठान्यो भने कुनैपनि ठाउँमा म प्रत्यक्ष उठ्न सक्छु । त्यसैले काठमाडौं नै मेरो रोजाईको कुरा भएन ।’
गठबन्धनको कुरा पनि छ । कुन कुन क्षेत्र क–कसले लिने भन्ने कुराको टुंगो लाग्नु पर्यो पहिला। त्यसपछि पो आफ्नो दलको कुरा हो उनले भनिन् । घर्तीले यसअघि विसं २०६४ चैत २८ मा भएको पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक सभासद भएकी थिइन् ।
त्यसैगरी २०७० मा उनले रोल्पा क्षेत्र नं. २ बाट दोस्रो संविधानसभा सदस्यमा चुनाव जितेकी थिइन् भने २०७४ मा उनी समानुपातिक सांसद बनेकी थिइन् । काठमाडौं २ नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको क्षेत्र पनि हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।